कञ्चनपुर। कञ्चनपुरमा जंगली हात्ती बस्तीमा प्रबेश गरेपछि आतंक मच्चाउन थालेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको आरक्षपीडित बस्तीमा हात्तीको बथानले आतंक मच्चाएको हो । बिहिबार राति आएको हात्तीको बथानले आरक्षपीडित बस्तीका तीन घर–टहरा भत्काइ दिएको छ । जंगली हात्तीको बथानले लालझाडी गाउँपालिका– ६ देखतभुली चान्देवका तीन आरक्षपीडित बस्ने टहरा भत्काएको हो।आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले निकुञ्जबाट आएको हात्तीको बथानले पीडितका घर भत्काउनुका साथै अन्नबाली नष्ट गरिदिएकोे बताए ।
उनका अनुसार हर्कबहादुर शाह, गणपति शर्मा र दिलेदत्त भट्टको घर भत्काइदिएको छ । हात्तीले घर भत्काएपछि वर्षातका वेला पीडित तीनै परिवारको बिचल्ली भएको छ । उनीहरू आफन्तको घरमा बस्न बाध्य भएका छन्। घर मर्मतका लागि काठ अभाव र स्तरीय घर निर्माणका लागि पैसा नहुँदा पीडित परिवारको बिचल्ली भएको हो । हात्ती आएको थाहा पाएर घरमा रहेका मानिस भागेकाले बच्न सफल भएको अध्यक्ष भण्डारीले बताए । जंगली हात्तीको बथानले हरेक वर्ष पीडित बस्तीमा ताण्डव मच्चाउँदै आएको छ ।