बैतडी। पारिश्रमिक नपाएको भन्दै ६ दिनदेखि अनशनमा बसेका लेन्थवर्करको समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ। बैतडीको पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरूका समस्या समाधानमा सहयोग पुर्याउन उक्त समिति गठन गरिएको हो। प्रमुख भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द र मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक सदस्य रहेका छन्।
२१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै लेन्थवर्करहरू अनशनमा बसेपछि समस्या समाधान सहयोग समिति गठन गरिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए। लेन्थवर्करहरूका समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनेछौँ, उनले भने, यो समस्या समाधान गर्न प्रदेश सरकारले चासो लिनुपर्ने हो, हामीले समन्वयको काम गर्छौं।’ यता, पूर्वाधार विकास कार्यालयले भने कार्यालयले काम गर्न नलगाएको जिकिर गर्दै आएको छ। तर लेन्थवर्करहरूले भने सम्बन्धित मन्त्रालय र मन्त्रीबाट काम गर्न मौखिक निर्देशन आएकाले आफूहरूले काम गरिरहेको जनाएका छन्।
पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले सडक डिभिजन कार्यालयबाट आफूहरूलाई लेन्थवर्कर हस्तान्तरण नगरिएको बताएका छन्। उनले भने, ‘सडक डिभिजन कार्यालयले सडकहरू हस्तान्तरण गर्दा पाटन(पञ्चेश्वर सडकका लेन्थवर्कर हस्तान्तरणका बारेमा कुनै कुरा उल्लेख गरेको छैन, कानूनी हिसाबले लेन्थवर्कर राख्न मिल्दैन।’ पूर्वाधार विकास कार्यालयलाई ठेक्का भएको सडक हस्तान्तरण भएको र ठेक्का भएको सडक ठेकेदार मातहत हुने जोशीको भनाइ छ। लेन्थवर्करहरूले उठाएको मागको विषयमा २०७६ असोजमै भौतिक पूर्वाधार विकास मन्त्रालयमा फाइल बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको जोशीको आरोप रहेको छ ।
यता, गत शुक्रबारदेखि रिले अनशनमा बसिरहेका लेन्थवर्करले पारिश्रमिक नपाउँदासम्म अनशन नछाड्ने बताउँदै आएका छन्। तलब माग गर्दै जाँदा दिलाउँछौ भन्ने आश्वासनमात्रै मिल्ने, आफूहरूले तलब नपाउने गरेकाले सरकारलाई दबाव दिन अनशन शुरू गरेको तथा तलब नपाउँदासम्म अनशन जारी रहने लेन्थवर्कर जयराम भुलले बताए। पाटन-पञ्चेश्वर सडकमा १२ जना लेन्थवर्करहरू काम गर्दै आइरहेका छन्। उनीहरूले २०७६ असोजदेखिको पारिश्रमिक नपाएको बताएका छन्।