बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका वडा ७ चडेपानी गाउँका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै गाउँका १९ जनामा संक्रमण पुष्टि भएपछि चडेपानीलाई एक हप्ताका लागि सिल गरिएको छ । सोमबार बसेको गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको हो। एकै गाउँमा धेरै जनामा कोरोना देखिएपछि असार २१ देखि २७ गते सम्मका चडेपानी गाउँ सिल गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने ‘गाउँका ७१ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको छ । हामीले गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गरेका छौं ।’
चडेपानी गाउँमा संक्रमण पुष्टि भएका सबै अहिले होम आइसोलेसनमा बसीरहेका छन् । संक्रमितहरुले संस्थागत आइसोलेसनमा बस्न नमानेको उनले बताए । उनले भने ‘संक्रमितहरुले संस्थागत आइसोलेसन बस्न मानेनन् । उनीहरु होम आइसोलेसनमा बसीरहेका छन् । यसले जोखिम बढ्दै गएको छ ।’ चडेपानीमा कम्तीमा ५ सय जनाको बसोबास रहेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । सिल गरिएको अवधिमा गाउँका सबैको कोरोना परीक्षण गरिने बताइएको छ । असार १६ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो पारेसंगै संक्रमितहरुको संख्या पनि बढ्दै गईरहेको छ ।