बाजुरा। बाजुराको हिमाली गाउँमा पहिरोले घर भत्कने जोखिम भएपछि एकसय भन्दा धेरै परिवार विस्थापित भएका छन् । गाउँ मुनिबाट खनेको सडकले बस्ती भासिएपछि दुई वडाका एक सयभन्दा धेरै परिवार दुई हप्तादेखि विस्थापित भएका हुन्। विस्थापित परिवारका लागि अस्थायी टहरा बनाउने प्रक्रिया सुरु भएको छ। अहिले अस्थायी पाल र राहत वितरण भैरहेको र केही दिनमै अस्थायी टहरा बनाइने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । वडा नम्बर ४ को फैती गाउँका २७ र वडा नम्बर ५ को क्युडीका ९४ परिवार विस्थापित भएका उहाँले जानकारी दिए।
गाउँका अरु केही घर पनि जोखिममा रहेको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए। विस्थापितहरु गाउँभन्दा झण्डै एकघण्टा टाढा पर्ने जोरगाउँ जंगलमा गएर बसेका छन् । उनीहरुलाई खानेकुरा र बस्ने ठाउँको अभाव छ। त्यहाँ उनीहरुमध्ये धेरैको आफ्नै जग्गा रहेको र केहीको भने आफ्नो जग्गा नरहेको मल्लले जानकारी दिए । गाउँपालिकाको सक्रियतामा दाल, चामल र पाल वितरण भए पनि सबैले नपाएको गुनासो गरेका छन् । कतिपयले कन्दमूल खाएर छाक टार्नुपरेको दुखेसो पोखेका छन् । सबै विस्थापितलाई खानेकुरा र बस्ने ठाउँको व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष मल्लले प्रतिबद्धता जनाए। गाउँभन्दा तल बनाइएको सडकका कारण घरहरु भासिएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।