धनगढी २० असार : खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ । साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो । बाबाले खप्तडमा ५० वर्ष बिताएका थिए । खप्तड पुग्ने अधिकाशं ब्यक्तीले बाबाको आश्रम नहेरी फर्किदैनन् । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् । बाबाले योग र ध्यान गर्दै धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञान लगायत पुस्तक समेत लेख्नुभएको छ । यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह(ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु रहेका छन् । खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिमको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ जिल्ला, बाजुरा जिल्ला, डोटी जिल्ला र अछाम जिल्ला संगम स्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ । समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन् । खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन् ।
खप्तड पुग्ने धेरै बाटाहरू भए पनि चलनचल्तीमा डोटीको बाटो रहेको छ । काठमाडौंबाट हवाईजहाज वा बसबाट पनि धनगढी पुग्न सकिन्छ । धनगढीदेखि डोटी जिल्लाको सदरमुकाम सिलगढी सम्म आठ घन्टा बस चढेपछि पैदल हिँड्नुपर्छ । अहिले भने बगलेगसम्म जिप पनि चल्न थालेको छ । सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्ज प्रवेशसँगै यात्राको सबैभन्दा अप्ठ्यारो तथा निकै ठाडो उकालो आउँछ । दोस्रो दिन बिचपानीबाट हिँडेपछि ठुल्ठूला चट्टान र घना जगलको बाटो आउँछ । बाटोमा फुलेका रंगीचंगी फूलहरूको सौन्दर्यको आनन्द लिँदै साँझ त्रिवेणी मन्दिर पुगिन्छ । खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ व्याग, खाना पकाउने सामानसँगै लिएर जानु बेस हुन्छ । साथै, चाउचाउ लगायतका ड्राइफुड पनि बोक्नु राम्रो ।
यसबेला केही हरियाली रहेको खप्तड क्षेत्र पुस महीनापछि सेताम्मे हिउँले ढाकिन्छ । जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ खप्तड । विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका प्रमुख विशेषता हुन् ।
खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् ।
खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन् । यहाँको पर्यटन प्रवर्द्धनमा ध्यान दिने हो भने पर्यटकका लागि खानेबस्ने लगायत आवश्यक सुविधा मिलाउन सके यो भूस्वर्गको रसास्वादन गर्न नेपालबाट मात्रै होइन विश्वकै पर्यटक ओइरिने निश्चित छ ।
बिछट्टैको खप्तड
एकछिनमै घाम लाग्ने र एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा बादलले रूखहरूलाई ढाक्दा बिछट्टै राम्रो देखिन्छ । निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म मानिसहरू भ्रमणका लागि जाने भए पनि बर्खामा लाग्ने गंगा दशहरा मेलामा यहाँ विशेष भीड हुने गर्दो रहेछ । रंगीबिरंगी गुराँस फुल्ने मौसम र भुइँफूलले पाटन ढाकेको बेलाको वर्णन गर्थे त्यहाँ भेटिने सिपाही र स्थानीय । यहाँको सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै यात्रीको थकान मेटिन्छ । घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरिसक्नु छैन । हिउँसँगै खेल्न रमाउनेका लागि मंसिर, फागुन, चैत एकदमै उत्तम मौसम हुन्छ ।
जेठ महिनामा गंगा दशहरा मेला
खप्तडमा प्रत्येक बर्ष जेठ महिनामा गंगा दशहरा मेला लाग्ने गरेको छ । गंगा दशहरा मेला हेर्नका लागि देश तथा विदेशवाट समेत श्रद्धालु भत्तजनहरु खप्तड पुग्ने गरेका छन् । सुदूरका चार जिल्लाको बिचमा पर्ने प्राकृतिक सौन्दर्यताले भरिएको खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । सायद त्यसैले होला खप्तड क्षेत्रलाई अर्को स्वर्गको नाम दिइएको छ । उकालो पैदल यात्राबाट थकान महसुस भए पनि सुन्दर पाटनमा पुग्ने वित्तिकै चारैतिरको मनमोहक सुन्दरताले थकान मेटिन्छ ।
यहाँका मठ मन्दिर, चैत बैशाखमा फुल्ने लालीगुराँस खप्तड मुख्य आकर्षणका रुपमा रहेका छन् । खप्तडको सबैभन्दा आकर्षक पक्ष हो धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेला । यो मेला हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन लाग्ने गर्छ । पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो । त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेको छ ।
सुदूरपश्चिमका ९ वटै जिल्ला सहित देशभरका विभिन्न जिल्लाहरु र भारतको उत्तरखण्ड उत्तर प्रदेशवाट पनि यो मेला हेर्नेहरुको घुँईचो लाग्ने गर्दछ । झण्डै ५१ वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ खप्तड प्रकृतिप्रेमीलाई मात्र नभई, भक्तजन तथा पर्यटकहरुका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएको छ । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा प्रसिद्ध स्थल खप्तड बैशाखदेखि मंसीरसम्म घुम्नका लागि उपयुक्त समय मानिन्छ । पहाडको चुच्चोमा अग्ला अग्ला लेकाली सल्लाका रूख त्यसको फेदीमा सुन्दर हराभरा ठुला ठुला पाटन, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी फूलहरुले पर्यटकहरुको मनलाई लोभ्याउने गर्छ । खप्तड साँच्चैनै स्वर्ग जस्तै छ ।
वर्षेनी बढ्दै छन आन्तरिक पर्यटकहरु
खप्तड छान्ना गाँउपालिकाको दारु गाऊसम्म सडक संजाल जोडिए पछि बझाङको बाटो भएर खप्तड जानेको संख्या बढदै गएको छ । दारुगाँउ सम्म गाडी पुगेपछि यसै बाटो भएर खप्तड भम्रणमा जानेको संख्या बर्षेनी बढ्दै गएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए । पहिले गाउँ सुनसान हुन्थ्यो अहिले गाँउमा साना सवारी जिप चल्न थालेपछि खप्तड जानेको लर्को छ । उनले भने– ‘पहिले पहिले गंगा दशहरा मेलामा मात्र मानिसहरु आउने गरेका थिए । तर पोहोर सालदेखि नयाँ बर्ष दशै र अन्य बेला पनि देशका विभिन्न ठाँउबाट मानिसहरु आउने गरेका छन । गत विगतका बर्षहरुभन्दा यस बर्ष वाहिर जिल्लावाट खप्तड जानेहरुको संख्या वढेको छ । पहिले दशहरा जातका वेला मात्र कमाई हुन्थ्यो छुटफुट रुपमा गोठालाहरु हुन्थ्थे पोहोर सालको नयाँ बर्षदेखि खप्तड आउनेको संख्यामा वृद्धि भएको ८ वर्षदेखि खप्तडमा होटल व्यवसाय गर्दै आएका वाजुराका लोक रावलले वताए ।
उनले भने ‘अहिले खप्तडको प्रचार प्रसारपनि बढ्यो बिभिन्न ठाउँका मानिसहरु यहाँ घुम्नका लागी आउने गर्छन् । तर भिर पाखा छन् भन्ने मेसेजका कारण धेरै मानिसहरु डराएरपनि आउँदैनन भन्ने सुनिन्छ खली राम्रो मेसेज दिन थालियो भने झन पर्यटक बढ्छन् ।’
खप्तड घुम्न हेलिकप्टर
पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरेको थियो । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको थियोे । बाहिरबाट खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए । उनले भने ‘कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन नसकेका कारण बिचमा हेलिकोप्टर सेवा शुरु गरेका थियौँ फेरुी दोश्रो चरणको कोरोनाले बन्द छ अब फेरी सहज परिस्थिती भए सञ्चालन गर्ने छौँ ।’
कोरोनाले रोक्यो खर्क संस्कृती
कोरोना संक्रमणको त्रास नहुँदो हो त यतिबेला खप्तडको रौनक नै बेग्लै हुन्थ्यो । रंगीचंगी भुइँफूलको गलैंचा ओढेका पाटनहरू खर्कले भरिभराउ हुन्थे । पाटनभरि घोडा, गाईभैंसी र भेडाबाख्रा चरिरहेका हुन्थे । गाईबस्तुका घाँटीमा झुन्ड्याइएका घन्टी (घाँडा) हरूको आवाजले खप्तडको मनमोहक स्वरूपलाई संगीतमय बनाएको हुन्थ्यो । यही संगीतमा मिसिएर गुन्जिने गोठालागोठालीका ठाडीभाकाहरू खप्तडको माहोल नै उत्सवमय बनाइदिन्थ्यो । दुई वर्षयता खप्तडमा गाईभैंसीका घाँडा र गोठालाका गीत सुनिएका छैनन् । कोरोना महामारीका कारण खप्तड राष्ट्रिय निकुञ्जले गाईबस्तु र गोठालाहरूलाई निकुञ्जभित्र प्रवेशमा रोक लगाएका कारण परम्परादेखि चल्दै आएको खर्क संस्कृतिमा अवरोध पुगेको छ । गोठालाहरू खप्तड सर्ने तयारी गरिरहेकै बेला कोरोना संक्रमण फैलिन सक्ने भन्दै निकुञ्ज कार्यालयले चरिचरन रोक लगाउने निर्णय गरेको छ ।
निकुञ्जका सूचना अधिकारी सुनिल बोहराका अनुसार पाटन क्षेत्रमा भीडभाड हुँदा जोखिम बढ्ने भएकोले यो वर्ष खप्तड निकुञ्जमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध गंगा दसहरा मेला पनि सञ्चालन भएन । ‘खप्तडको पहिचानसँग जोडिएको खर्क संस्कृति र गंगा दसहरा मेला रोक्नु पर्दा हामीलाई पनि राम्रो लागेको छैन,’ बोहराले भने, ‘तर पनि महामारीमा सबैले सुरक्षित बस्नुको विकल्प छैन । ज्यान जोगियो भने खर्क अर्को वर्ष बसौंला ।’
बोहराले भने जस्तै, खप्तड र पशुपालनको परम्परागत सम्बन्ध यति गहिरो छ कि यसको चर्चा बिना खप्तडको परिचय पनि अधुरो रहन्छ । महाभारत कालमा गोत्र हत्याको पाप मोचनका लागि महादेवको दर्शन गर्न पाण्डवहरू यहाँ आएको कमानसखण्ड लगायत धर्मग्रन्थ हरूमा उल्लेख छ । महादेव राँगोको रूपमा भैंसीहरूसँग खप्तडमा वन विहार गरिरहेका बेला पाण्डवहरूले चिन्न नसकेका रोचक प्रसंगहरू विभिन्न ग्रन्थमा उल्लेख भएको पाइन्छ ।
१९ औं शताब्तीमा अन्त्यसम्म पनि भारतको गुजरातका गोठालाहरू भैंसी चराउन खप्तड पुग्ने गरेको किवंदन्तीहरू अहिले पनि प्रचलित छ । गुजरातबाट आएका भैंसी गोठालालाई गुजर भनिन्थ्यो । यसै क्रममा एक जना स्थानीयले गुजाराती गोठालाको भैंसी लुकाइदिएको र त्यस यता उनीहरू यहाँ भैंसी लिएर आउन छोडेको बूढापाकाहरू बताउँछन । गुजरातीका भैंसीलाई गुजरी भैंसी भनिन्थ्यो । स्थानीय गोठालाले लुकाएको भैंसी व्याएर विस्तारै बझाङमा यो जातका भैंसीहरू फैलिएको बूढापाकाहरू दाबी गर्छन् । अहिले पनि यहाँ गुजरी जातका भैंसीहरू पाइन्छन् ।
वर्तमान समयमा पनि खप्तडमै पशुपालन गरेर जिविका चलाउने सयौं पशुपालकहरूका कथा पनि उत्तिकै चाखलाग्दा छन् । खप्तडले बाहिरबाट घुम्न आउनेलाई मात्र हैन । यसको आसपासमा बस्नेहरूलाई पनि मोहनी लगाएको छ ।