धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन गरेको छ। यस्तै, प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा एक करोड बजेट विनियोजन गरेको छ। मन्त्री शाहकै निर्वाचन क्षेत्रमा पर्ने बाजुराको खप्तड छेडेदेह गाउँपालिका-४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको हो।
मन्त्री शाहको कुल देवतासमेत रहेको ज्यूलेख मन्दिरमा चुनावका बेलासमेत उनले पूजापाठ गरेका थिए । मन्त्री शाह मात्र नभएर प्रदेशका ९ वटै जिल्लामा यसरी नै समुदाय विशेषका मन्दिरमा करोडौं बजेट विनियोजन गरिएको छ ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत श्रेष्ठले धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारले वर्षेनी मन्दिरहरुमा समेत बजेट विनियोजन गर्दै आएको बताए । उनले अहिले अघिल्ला वर्षको जस्तो मन्दिर निर्माण मात्र नभएर त्यहाँसम्म पर्यटकलाई पुर्याउन पदमार्ग, प्रवेशद्वार पनी निर्माण गरीने जानकारी दिए।