कविताः किसानको असारे पन्ध्र
अचेल जोत्नेको संख्या घटेको छ।
रहरै मात्र गर्नेहरू ह्वात्तै बढेको छ।।
असारे पन्ध्रले मिडिया छाएको छ।
एकपटक भए पनि रोपाहा ड्रेस लाएको छ।।
(१)
किसान रोपाइँको अलग्गै चटारोमा।
रोपाहाहरू बिउ डोब्दै जीवनीको झटारोमा।।
गाइने दाइको उफ्र्याइदिने घिन्ताङ बाजा।
मानो छरी मुरी फल्ने निर्वाहरुपि खाजा।।
(२)
सानो खेतको माली ऊ विर गाथा बोक्ने।
अचेल थरीथरीका बजेट किसानको भनि खोक्ने।।
किसानी उहाँको बाध्यता भारी बोक्ने उस्तै।
पुर्खाले त्यही गरे ठानेर नियति जस्तै।।
(३)
कुला नहर चुहिने उस्तै बिनटाको पानी।
निधारमा रेखा पारी पाल्नुपर्ने बावु नानी।।
रोदनलाई भाग्य भन्दै कोदालीमा रमेको छ।
निन्दा गर्ने छिमेकी नि दैनिकीमा जमेको छ।।
(४)
किन्नुपर्ने सबै कुरा जमानाले किसान घेरिएको छ।
हुनेलाई मधुबास्ना किसान तर बेरिएको छ।।
बाबा किसान छोरो किसान पेसा पनि किसान।
चिर्नुपर्ने सुनसान बेला हिंडेको छ छोड्न निसान।।
(५)
श्रमजीवी सर्वहारा धन्य धर्ती पुत्र।
माटोसित मितेरी जोड्ने संगीतको सुत्र।।
उर्जाशिल पाखुरा उसका उमंगको धनी।
संगिनताको बिगुल फुक्दै कर्मवीर जुनी।।
(६)
मान बहादुर जोरा
उप-प्राध्यापक, कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली