कञ्चनपुर। कञ्चनपुरमा पछिल्लो समय लागुऔषध कारोबार गर्नेको संख्या वृद्धि हुँदै जाँदा सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रिय देखिएका छन्। दुईतिर भारतसँग सीमाना जोडिएको कञ्चनपुरमा लागु औषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरी र सशस्त्र प्रहरीले आक्रमक रुपमा कारवाही अघि बढाएको हो। लागुऔषध कारोवारको जालोलाई तोड्नको लागि कञ्चनपुरको नेतृत्व सम्हालेदेखि एसपी उमाप्रसाद चतुर्वेदीले पनि अभियान नै सञ्चालन गरेका छन्। नेपाल प्रहरी मात्रै नभएर सीमा क्षेत्रमा हुने लागुऔषध कारोवारलाई निरुत्साहित पार्न सशस्त्र प्रहरी बल पनि त्यतिकै सक्रिय रुपमा लागेको छ। जिल्लाको दोधारा चाँदनीमा सशस्त्र प्रहरीले जनचेतनामुलक अभियानको नै थालनी गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका-१ गडीगोठ र वडा नम्बर ८ सुन्दरनगर क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सशस्त्र प्रहरीले जनचेतना अभियान अघि बढाएको हो। सशस्त्र प्रहरीले पहिलो चरणमा दोधारा चाँदनी नगरपालिका सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीय, संघसंस्था तथा सीमा क्षेत्रमा रहेका भारतीय एसएसवीसँग लागुऔषत्र नियन्त्रणका लागि बैठक र छलफल गरिसकेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट (बीओपी) दोधारा चाँदनीले बताएको छ।
बीओपी दोधारा चाँदनीका देवीस्थानका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण बोहराले भारतीय सुरक्षाकर्मी (एसएसवी)धनुशपुलका कम्पनी कमाण्डर योगेश यादवसँग सीमा क्षेत्रबाट हुने लागु औषधको तस्करीलाई नियन्त्रण गर्नका लागि छलफल भएको बताए। उनले दोधारा चाँदनी नगरपालिका १ गडीगोठ अन्तर्गत नेपाल भारत सीमा क्षेत्र दशगजामा लागुऔषध नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मी आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने गरि छलफल भएको बताए। सोही नगरपालिकामा रहेको बोडर आउट पोष्ट (बीओपी)बैलबन्दका प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले पनि आफ्नो तर्फबाट छलफल भएको बताए।
दुवै देशका सुरक्षाकर्मीले लागुऔषध कारोवार रोक्न प्रतिवद्धता समेत जनाएको बीओपी देविस्थानका सशस्त्र प्रहरी निरीक्षक बोहरा बताउँछन्। यसैगरि दोधारा चाँदनी नगरपालिका ८ सुन्दरनगरमा पनि सीमा क्षेत्रको लागु औषध कारोवार नियन्त्रणमा बीओपी कुतियाकवरले पनि जनचेतना अभियान सञ्चालन गरेको सशस्त्र प्रहरीका सई दानसिंह विष्टले बताए। सुन्दरनगरमा सशस्त्रका असई असई नारायण सिंहले उत्तराखण्ड भारत झनकैया थानाका असई प्रताप सिंह मेहरासँग छलफल गरेका छन्। सशस्त्र प्रहरीको यस्तो अभियानले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिबिधी नियन्त्रणसंगै साना हतियारको ओसार–पसार, लागुऔषध कारोवार, मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने त्यहाँका स्थानीयले विश्वास गरेका छन्।