धनगढी: नेकपा एमालेका महासचिव शंकर पोखरेलले केही अराजक झुण्डलाई पुर्व राजाले प्रयोग गर्न खोजेको बताए । कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै उनले राजाका पालाको काम र अधिकार सगं अहिलेका अधिकार तुलना गर्न उनले आग्रह गरे । राजा फर्काउने भन्दै हुने आन्दोलन अराजगताको भिड रहेको बताउँदै उनले सो भिडको नेतृत्व गर्नेलाई आवश्यक कार्वाही हुने दावी गरे । उनले धनगढी क्षेत्रमा बनेका सडक एमालेकै सरकारको पालामा शुरु भएको बताए । केपी ओली प्रधानमन्त्री भएको बेला सघन सहरी विकास आयोजनाका रुपमा केही कार्यक्रम अगाडि बढाइएका थिए । त्यसैको परिणमले धनगढी शुन्दर बन्न लागेको उनले बताए ।
उनले काठमाडौंको तीनकुनेमा आतंक मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको बताए । महासचिव पोखरेलले दुर्गा प्रसाईँप्रति इंकित गर्दै यस्तो बताएका हुन् । ‘पूर्वराजा ज्ञानेन्द्र शाहले जनकमान्डर बनाएका, समाजमा आतंक सिर्जना गर्न, उत्पात मच्चाउन र लुटपाट गर्न योजना बनाउने योजनाकारलाई भारतमा लुकेको अवस्थामा प्रहरीले खोजतलास गरेर ल्याएको छ,’ उनले भने, ‘ती योजनाकारलाई आज हतकडी लगाएर कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भएको छ ।’
महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको बताए । ‘आज हाम्रो समाजलाई अराजकतातर्फ धकेल्ने प्रयत्न भएको छ,’ उनले भने, ‘अराजक गतिविधिले समाजलाई पछाडि धकेल्दै छ । त्यस अर्थमा हामीले खबरदारी गर्न आवश्यक छ ।’ उनले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए । ‘पञ्चायतको समयमा धनगढी र गरिबको खाडले २३ गुणा बढी थियो । अहिले ८ गुणामा झरेको छ,’ उनले भने, ‘समानतातर्फको यात्रा यो समाजमा अगाडि बढेको छ ।’