धनगढी: कैलालीको डुबान प्रभावित क्षेत्रमा चैते धान खेती वैकल्पिक खेती बनेको छ । बर्खे धानलाई बाढीले नोक्सान गर्ने गरेका कारण डुबान प्रभावित क्षेत्रका किसानका लागि चैते धान वैकल्पिक खेती बनेको हो । जिल्लाको भजनी नगरपालिकाका कतिपय किसानले चैते धान खेती मात्रै गरेर जीविका चलाउने गरेका छन् ।
बाढीले बर्खे धानबालीलाई क्षति गर्ने गरेकाले किसान चैते धानतिर आकर्षित भएको भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीले बताउनुभयो । उहाँले यस वर्षको चैते धानको रोपाइँ सुरु गरिसकेका जानकारी दिए । “तोरी भित्र्याइसकेको खेतमा किसानले चैते धान रोपाइँ गरिरहेका छन्,” चौधरीले भने, “मुसुरो रहेको खेतमा रोपाइँ गर्न बाँकी रहेको छ तर चैत १० भित्रै सबै खेतमा रोपाइँ हुन्छ ।”
गत वर्ष कैलालीमा करिब एक हजार एक सय हेक्टर जमिनमा चैते धान खेती गरिएको थियो । चैते धानको खेती सबैभन्दा बढी भजनी नगरपालिकामा हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । सो कार्यालयका अनुसार त्यसपछि कैलारी गाउँपालिकामा अलि बढी चैते धान खेती गर्ने गरिएको छ । जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिकामा केही मात्रामा चैते धान गर्ने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनारायण चौधरीले जानकारी दिए ।
भजनी–३, ५, ७ र ८ मा किसानले चैते धान खेती मात्रै गर्ने गरेको उनले बताए । “भजनीका यी वडा विपत् प्रभावित वडा भएकाले यहाँका किसानका लागि बर्खे वा चैते जे भने पनि चैते धान मात्रै हो,” चौधरीले भने। जिल्लामा यस वर्ष केही क्षेत्रफल चैते धान खेती बढ्ने जनाइएको छ । चैते धान खेतीतर्फ किसानको आकर्षण बढाउनका लागि कृषि ज्ञान केन्द्रले सम्झौता गरेर अनुदान दिने गरेको छ । छनोटमा परेका कृषकलाई बिउबिजन वा आवश्यकता अनुसार कृषि उपकरण खरिदका लागि प्रतिकट्ठा दुई हजारको दरले अनुदान दिइने गरेको जनाइएको छ ।
त्यति नै रकम कृषकले पनि लगानी गर्नु पर्छ । चालु आर्थिक वर्षमा चैते धान खेतीमा अनुदानका लागि आठ लाख रुपियाँ बजेट कृषि ज्ञान केन्द्रमा रहेको छ । चैते धानको उत्पादन बर्खे धानको भन्दा राम्रो हुने गरेको जनाइएको छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा प्रतिहेक्टर ५।२ मेट्रिक टनको दरले पाँच हजार ७२० मेट्रिक टन चैते धान उत्पादन भएको थियो । चैते धान उत्पादन राम्रो हुने र बर्खे धान बाढीका कारण नपाइने गरेका कारण डुबान प्रभावित भजनीका किसानले चैते धान खेती मात्रै गर्ने गरेको भजनी नगरपालिका–८ का जयप्रसाद ढुङ्गानाले बताए ।