धनगढी: नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी र मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकीलाई ७ विकेटले हरायो । ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रनको योगदान गरे । बलिङमा गण्डकीका विपीन खत्री र सुवास भण्डारीले समान १-१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी २३।२ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले ४८ तथा रोहित चन्द र सुवास भण्डारीले समान १०-१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका ललित राजवंशीले ५ विकेट हात पारे । उनले ५.२ ओभरमा ७ रन खर्चिए । यसअघि ललितले एपीएफविरुद्ध ६, मधेशविरुद्ध ५ तथा सुदूरपश्चिमविरुद्ध ६ विकेट लिएका थिए । यस्तै गुलशन झाले ४ विकेट लिए ।
बुधबार नै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेट हरायो । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले नटआउट रहँदै सर्वाधिक ४३ रन जोडे । यस्तै नारायण जोशीले अविजित २५ र प्रकाश पाण्डेले २२ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ तथा विप्रशन केसी, अजय चौहान र निर्मल गुरुङले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रनमा अलआउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्ज्वल थापाले ३० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान २/२ विकेट लिए । यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा मधेशले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पारेको हो । आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे । यस्तै रुपेश सिंहले नटआउट ३८, हरिशंकर साह र पवन सरार्फ समान ३७-३७ तथा शैलेन्द्र साहले १५ रन बनाए । आर्मीका नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्की ३३, कुशल मल्ल २४, विवेक यादव १६, तृतराज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए ।
मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २/२ तथा रञ्जित कुमारले १ विकेट लिए ।