धनगढी । कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ मनोनित गरिएका ६ जना सदस्यहरुको पद अदालतले बदर गरिदिएको छ । संघका वरिष्ठ उपाध्यक्षसहित ५ जना पदाधिकारी र ६ जना सदस्यहरुले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिँ बोहराले सदस्यहरुको पदपुर्ति गर्ने भन्दै ६ जनालाई मनोनित गरेका थिए । तर सो विषयमा उच्च अदालत दिपायलमा मुद्धा परेको थियो । सो मुद्धामा फागुन १३ गते उच्च अदालतका न्यायाधीस डण्डपाणि शर्मा र अस्मिन कुमार राईको संयुक्त इजलासले मनोनित गरिएका सदस्यहरुको पद बदर गर्ने फैसला सुनाएको हो ।
अदालतको फैसला अनुसार अध्यक्ष बोहराले संघको विधान विपरित सदस्यहरु मनोनित गरेका थिए । यसअघि सदस्य मनोनितका क्रममा बोहराले संघको विधान २०७१ मा टेकेर सदस्यहरू मनोनीत गरिएको बताएका थिए ।
उनले जिल्ला प्रशासन कार्यालय सँगको छलफल पश्चात् उक्त निर्णय गरिएको पनि बताएका थिए । तर सदस्यहरूको मनोनीतका विषयमा विधानको प्रतिकुल नहुने गरी कामकारबाही गर्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको बताएका बोहराको सदस्य मनोनितको निर्णय अदालतले भने विधान विपरित रहेको ठह(याएको छ ।
वादीका तर्फबाट अदालतमा बहस गरेका अधिवक्ता दिपक राज जोशीले पुस २८ गते अध्यक्ष बोहराले मनोनित गरेका ६ जना सदस्यहरुको पद अदालतले बदर गरेको बताए । उनले त्यसबाहेक संघ सञ्चालनका लागि आवश्यक निर्देशन दिने दिलाउने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा पनि परमादेशको आदेश जारी भएको बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अदालतको आदेश अनुसार नै प्रशासनले कामकारबाही अघि बढाउने बताएका छन । अदालतले बदर गरेका सदस्यहरुको पद स्वतः बदर भएको र बाँकी कार्यको हकमा अदालतको आदेशानुसार गरिने उनले बताए ।