बाजुरा: बाजुराको जगनाथ गाउँपालिका–६, काप्रेगोत्रीका स्थानीयले कर्णाली नदीमा बगाएको गाईले न्याय पाएको छ । गत चैत २ गते साउने सार्कीको मृत्यु भएपछि उनको मृत आत्माले शान्ति पाउँछ भनेर यहाँका स्थानीयले एउटा जिउँदो गाई कर्णाली नदीमा बगाएका थिए । यसरी कर्णाली नदीमा बग्दै गरेको गार्ईको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भएपछि प्रहरीले त्यो गाईलाई ३ गते उद्धार गरेको थियो ।
अहिले कर्णाली नदीमा फालिएको गाई खोजेर यहाँकै स्थानीय प्रजन सार्कीलाई पाल्ने जिम्मा दिइएको प्रहरीले जनाएको छ । एक अबोध पशुलाई निर्मम कुटपिट गरेर कर्णाली नदीमा बगाउने कार्य गर्नेलाई प्रहरीले कारबाहीसमेत गर्ने भनिएको छ । कर्णाली नदीमा गाई बगाउने सबैको अहिले पहिचान भएको छ । अहिले उनीहरू मृतक साउने सार्कीको किरियामा रहेकाले केही दिनपछि तिनलाई समातेर जिल्लामा ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।