अछाम : तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ मा अछाम सदरमुकाम मंगलसेनमा रहेको अछाम दरबारसँगै जिल्ला प्रहरी कार्यालयमा आक्रमण गर्यो । अछाम दरबार पूर्णरुपमा ध्वस्त भएको करिब २३ वर्षपछि पुनर्निर्माण भयो । जिल्ला प्रहरीलगायत दर्जर्नौं कार्यालयको भवन बजार भन्दामाथि पुनः निर्माण भए । तर आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालयको भवन कुनै मर्मत नगरेर प्रहरी चौकी मंगलसेन स्थापना गरियो ।
द्वन्द्वकालमा क्षतिग्रस्त प्रहरी चौकी मंगलसेन अहिले जीर्ण अवस्थामा छ । पटकपटक आउने भूकम्पको धक्काले प्रहरी चौकीको मुख्य भवन, भान्सा, शौचालय र आवासगृह थप जीर्ण बनेका छन् । कार्यालयभित्रका सामान र हतियारसमेत जोगाउनका लागि पानी परेको समयमा प्रहरीले त्रिपालले छोप्दै आएको छ । ‘भान्साभित्र बसेर खाना नखाएको धेरै भइसक्यो । भूकम्पको धक्काले पूरै चिरा परिसकेको छ । कार्यालय सञ्चालन गर्नेदेखि प्रहरी कर्मचारी बस्ने पूरै कोठा चुहिने गरेको छ,’ प्रहरी चौकी इञ्चार्ज प्रहरी नायब निरीक्षक गगनबहादुर बोगटीले भने,‘म जवान भएका बेला २०५५ मा मंगलसेन आउँदा पनि यही भवन थियो । अहिले पनि यही छ । त्यतिबेलै जस्ताले छाएको हो । अहिले त जस्तामा प्वाल परेर चुहिने भएको छ ।’
भान्सा, प्रतिक्षालय, तारबारजस्ता सामान्य संरचना बनाउन स्थानीय तहसँग पटकपटक आग्रह गरिरहेको उनले बताए । यसअघि पनि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका प्रमुखले अनुगमन गरेका थिए । ‘अछामको मुख्य बजारमा रहेको चौकी हो । प्रहरी कार्यालय बजारबाट टाढा छ । अरुलाई सुरक्षा दिने हामी प्रहरी जोखिममा छौं,’ उनले भने । भवन कमजोर भए पनि मंगलसेन चौकी जमिन धेरै भएको अछामको एक मात्र प्रहरी इकाइ हो । प्रहरी चौकी मंगलसेनको नाममा २७९२.४२ वर्गमिटर जग्गा छ । चौकीको नाममा भएको जमिनलाई जिल्ला प्रहरीले करिब १८ वर्ष अघिबाट भाडामा दिएको छ । प्रहरी स्रोतका अनुसार मंगलसेनका व्यापारीलाई जग्गा भाडामा दिएको लिखित दस्तावेज र सम्झौता छैन ।
‘लामो समयदेखि स्थानीय व्यापारी बसिरहेका छन् । प्रहरी कार्यालयले व्यपारीसँग सम्झौता नै गरेको छैन । सम्झौता नभएकाले प्रहरीले बल प्रयोग गरेर हटाउन पनि सकेको छैन । कार्यालय प्रमुख भएर आउने कसैले पनि निर्णय लिन सकेको देखिँदैन,’ स्रोतले भन्यो, ‘भाडा दिएको र लिएको प्रमाण प्रहरीसँग छैन । यसको लेखापरीक्षण पनि हुँदैन । वर्षौंदेखि आफूले भोगचलन गरेको जग्गा भएर आफ्नो कब्जामा लैजान सकिन्छ कि भन्नेहरु पनि हाबी भएका छन् ।’
स्थानीय व्यापारीका अनुसार २०६३ चैतबाट प्रहरीले जग्गाको भाडा लिन थालेको हो । प्रहरीको नाममा भएको जग्गाभित्र ८ वटा पसल सञ्चालन भइरहेका छन् । ८ वटा पसलको २ हजारदेखि ३ हजार ६ सयसम्म भाडा जिल्ला प्रहरी कार्यालयले उठाइरहेको छ । अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार मंगलसेनको जग्गा भाडा जिल्ला प्रहरीले पहिलेदेखि नै उठाइरहेको छ । अहिले पनि त्यसैको निरन्तरता छ । एक समिति बनाएर प्रहरी कल्याणकारी कोषमा भाडाबाट उठेको रकम जम्मा हुने गरेको उनी बताउँछन् ।
प्रहरी कर्मचारीको हकहितका लागि उक्त रकम खर्च गर्दै आएको उनले बताए । ‘प्रहरी चौकी मंगलसेनको भवन धेरै पुरानो भइसकेको छ । असुरक्षित पनि छ । नयाँ भवन निर्माणका लागि लेखापढी भइसकेको छ,’ उनले भने ।कान्तिपुरबाट