धनगढी । कैलालीको अत्तरियामा रहेको हाम्रो सुदूरपश्चिम होटलका सञ्चालक ५५ वर्षीय लोक बहादुर बिष्ट माथि निर्घात कुटपिट भएको छ । शुक्रवार साँझ कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ बाणीमा उनीमाथि कुटपिट भएको हो ।
बाणी निवासी बिष्टलाई लालझाडी गाउँपालिका – ५ का ललित मल्लले कुटपिट गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । कुटपिटबाट बिष्टको टाउकोमा चोट लागेको छ ।
कुटपिटबाट घाइते बिष्टको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । घाइते बिष्टले शुक्रवार बिहान सामान्य वादविवाद हुँदा कुटपिट गरेको बताए ।
‘बिहान चिया पसलमा बसेको बेला सामान्य वादविवाद भएको थियो । राजाका विषयमा सामान्य वादविवाद भएको थियो । त्यति बेला सामान्य वादविवाद भए पनि हामी आ–आफ्नो घर गएका थियौ’ उनले भने ‘पछि साँझ बजार तिर आएको बेला पछाडिबाट मेरो टाउकोमा हान्यो । म त्यही ढलेको थिए ।’ उनले कुटपिट गरेर ज्यान मार्ने धम्की पनि दिएको बताए ।
उनले अत्तरियामा होटल व्यवसाय गर्न सक्दैनस् मारिदिन्छु भनेर धम्की दिएको बताए । अत्तरियाको महेन्द्रनगर रोडमा होटल सञ्चालन गरेका बिष्टले एक सय रुपैयाँमै खाना खुवाउँदै आएका थिए ।