धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मगंलबार कैलाली पुगे। थारू राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न मंगलबार बिहान अध्यक्ष प्रचण्ड कैलालीको टीकापुर पुगेका थिए। सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराईका २४ जिल्ला तथा उपत्यका विशेष जिल्लाबाट समेत करिब साढे सात सय जना प्रतिनिधि सहभागी थिए ।
अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय कार्यालयमा खगराज भट्ट र मान बहादुर धामीलाई बोलाएर आफु सुदुरपश्चिम पुग्नु अघी खगराजलाई दल नेता बनाउन निर्देशन दिएका थिए । तर उनि कैलालीमै पुग्दा समेत उनको निर्देशन फेरी पालना भएन । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि दलभित्रको विवाद सतहमा आएको थियो । धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।
त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउद मात्रै देखिए । तर, अहिले ओली पनि भट्ट समूहमा छन्, जसका कारण अहिले भट्ट र धामी पक्षमा पाँच(पाँच जना सांसद छन् । धामीलाई हटाएर खगराजलाई दल नेता बनाउन अध्यक्ष प्रचण्डले पाँचपटक निर्देशन दिइसकेका छन् । तर, उनको निर्देशन कार्यान्वयन नभएपछि अघिल्लो बुधबार प्रचण्डले माओवादी केन्द्रका सबै प्रदेश सांसदलाई खुमलटार बोलाएका थिए ।
बुधबारको छलफलमा पनि प्रचण्डले खगराजलाई दल नेता बनाउने निर्देशन कार्यान्वयन गर्न फेरि निर्देशन दिएका थिए । ‘म २० फागुनमा कैलालीको टीकापुरमा आउँछु,’ प्रचण्डले भनेका थिए, ‘म कैलाली पुग्नुभन्दा अगाडि नै दलको नेता फेर्ने मेरो निर्देशन कार्यान्वयन हुनुपर्छ । धेरै दायाँबायाँ मलाई थाहा छैन ।’ तर, प्रचण्डको उक्त निर्देशन पनि कार्यान्वयन भएन । माओवादी केन्द्रका प्रदेशसभा सदस्य शिवसिंह ओलीले दलका नेता धामीले संसदीय दलको बैठकसमेत नबोलाएको बताए । ‘बुधबार अध्यक्षज्यूले कडा शब्दमा निर्देशन दिनुभएको थियो,’ उनले भने, ‘तर, यहाँ त दलको बैठकसमेत बसेको छैन ।’
संसदीय दलका नेता धामीसहित प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी माल खगराजलाई नेता बनाउन तयार नभएका हुन् । उनीहरूले पार्टीको प्रदेश इञ्चार्ज रहेका उपमहासचिव गिरिराजमणि पोख्रेललाई हटाएर आफ्नो पक्षका नेताहरूलाई इञ्चार्ज बनाएपछि मात्रै दलको नेता खगराजलाई बनाउने बताएका छन् । उनीहरूले विना मगर, त्रिलोचन भट्ट र लक्ष्मीदत्त जोशीमध्ये कुनै एकलाई प्रदेशको इञ्चार्ज बनाउनुपर्ने माग अघि सारेका छन् ।