धनगढी: जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बीचमा भेटघाट भइरहन्छ। भनिन्छ- उनीहरू पार्टी एकताबारे गफिन्छन् र एकताको निर्णयमा पनि पुगिसकेका छन्। यसबारे सोध्दा रेशम आफैँले गत माघ ३० गते नागरिक न्युजसँगको संवादका क्रममा जनमतसँगको पार्टी एकता पक्का भइसकेको उल्लेख गर्दै एकताको शुभखबर चाँडै सुन्न पाइने प्रतिक्रिया दिएका थिए।
त्यसबेला उनको प्रतिक्रिया थियो, ‘एकताका लागि आधार लगभग तयार भइसकेको छ। हाम्रा बीचमा समान विचारधारा भएकाले पनि एकताका लागि सहज छ। फेरि हामी दुबै आन्दोलन, सडकबाट उठेको नेता हौँ। जनताका खातिर जेलनेल भोगेका नेता हौँ। त्यसकारण एकताका लागि आधार तयार भइसकेको छ। शुभखबर चाँडै सुन्न पाउनुहुन्छ।’ यसबारे जनमतका प्रवक्ता डा। शरदसिंह यादवले मङ्गलबार ९आज० मात्र नागरिक न्युजसँग भने, ‘हाम्रो बीचमा एकता चाँडै हुँदैछ। शीर्ष नेतृत्व तहमै शृङ्खलाबद्ध रूपमा संवाद भइरहेका छन्। ठ्याक्कै समय तोक्न त सकिँदैन। तर, यतिचाहिँ हो कि एकता चाँडै टुङ्गिँदैछ।’
कहिलेसम्म एकता हुन्छ भन्ने जिज्ञासामा प्रवक्ता यादवले भने, ‘दुईवटा पार्टीबीच एकता हुने कुरा हो, अलिक समय त लाग्न सक्छ। केटा र केटी मन परापर भएपछि बिहे हुन त समय लाग्छ भने यो त फरक पार्टीका बीचमा एकता हुने कुरा हो। यो खाली पार्टी एकता मात्रै भन्दा पनि पहिचानवादीहरू एक ठाउँमा आउनुपर्छ भन्ने सन्देश पनि हो। सीमान्तकृतहरू, अधिकारबाट वञ्चित भएकाहरू एक ठाउँमा आउनुपर्छ भन्ने पनि हो। पार्टी एकता चाँडै हुन्छ।’ एक नेताले बताएअनुसार रेशम र चन्द्रकान्तका बीचमा कसले नेतृत्व गर्ने भन्नेबारे विषय टुङ्गिन बाँकी छ। यसबाहेक साङ्गठनिक तथा अन्य प्राविधिक कुराहरू टुङ्गिसकेको भन्दै ती नेताले भने, ‘एकता त अब हुनै भयो। सरासर काम भयो भने अब एक डेढ महिनाभित्र एकता घोषणा हुन्छ।’
अध्यक्ष रञ्जिता एकताको विपक्षमा
नागरिक उन्मुक्तिका संरक्षक रेशम जनमतका अध्यक्ष चन्द्रकान्तसँग निरन्तर संवादमा रहेर पार्टी एकता पक्का गर्दा पनि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भने एकताको विपक्षमा छिन्। उनले नागरिक न्युजसँग ठोकुवा गरिन्, ‘हाम्रो पार्टी र माननीय सीके राउतज्यूको पार्टीका बीचमा एकता हुने भन्ने कुरा मिडियाहरूमा देखिरहेकी छु। तर, खै मलाई त केही थाहा छैन। एकताका लागि प्रक्रिया अगाडि बढेको भन्ने पनि मिडियामै देख्छु। मलाई यसबारे केही थाहा छैन।’ तर, पार्टीका संरक्षक (रेशम चौधरी) ले त जनमतका अध्यक्षसँग पार्टी एकता पक्का गरिक्नुभयो नि ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘यसबारे मैले अघि बिहान मात्रै जनमतका अध्यक्ष माननीय सीके राउतज्यूसँगै कुराकानी गरेकी थिएँ। खै उहाँले त त्यस्तो केही होइन। एकता हुँदै छैन भन्नुभयो। एकता त हुँदै हुँदैन नि।’
रञ्जिताले रेशमले आफूलाई यसबारे केही नबताएको बताइन्। हुन त यसअघि रेशमले नागरिक न्युजसँगको संवादका क्रममा जनमतसँगको पार्टी एकताबारे पार्टी अध्यक्ष रञ्जितासँग कुराकानी गर्ने बताएका थिए। त्यसबेला रञ्जिता विदेशमा थिइन्। तर, यसबारे आफूलाई केही थाहा नभएको उनले बताइन्। भनिन्, ‘खै उहाँले मलाई त केही बताउनुभएको छैन यसबारे।’ तपाईंहरूको बीचमा संवाद हुँदैन भन्दा उनले भनिन्, ‘हुँदैन, यसबारे केही बताउनुभएको छैन।’ त्यसो त पछिल्लो समय पुनस् रेशम र रञ्जिता बीचको सम्बन्ध चिसिएको बताइन्छ।
उनीहरू श्रीमान्श्री-मतीसमेत हुन्। पार्टी नेतृत्वको सन्दर्भलाई लिएर उनीहरूलाई यसअघि नै पनि लफडा परिसकेको छ। उनीहरू बीचको मनमुटावकै कारणले पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसमेत गुमाएको थियो। त्यसबेला पार्टीका अरु नेताहरूको समन्वयमा उनीहरूबीच एक हदसम्मको मिल्ती बनेको थियो। तर, अहिले आएर फेरि उनीहरूबीचको सम्बन्ध चिसिँदै गएको बताइन्छ।