बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २४ बर्षीय सुरेन्द्र बिष्टको हत्या भएको पाँच दिन बितिसक्दा समेत अभियुक्त पक्राउ पर्न सकेका छैनन् । गएको शनिबार राति ९ बजेको समयमा सोही ठाउँका ४५ बर्षीय कर्णबहादुर बिष्टले गोली हानेर सुरेन्द्रको हत्या गरेका थिए ।
लेनदेनका बिषयमा विवाद हुँदा कर्णले भरुवा बन्दुकबाट गोली चलाएर सुरेन्द्रको हत्या गरेका हुन् । सुरेन्द्रको हत्यापछि फरार रहेका कर्णबहादुर बिष्ट अझै फेला परेका छैनन् । आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको हत्या गरेर कर्ण फरार भएपछि गाउँमा त्रासको वातावरण सिर्जना भएको स्थानीय धनबहादुर बिष्टले बताए । उनले भने, ‘सामान्य विवादमा गोली चलाएर हत्या गरिएको छ । अभियुक्त अझै फरार छ । यसले गर्दा गाउँमा त्रासको वातावरण सिर्जना भएको छ ।’ कर्णबहादुर बिष्टले सुरेन्द्रलाई ४० हजार रुपैयाँ तिर्नुपर्ने थियो । सोही बिषयमा विवाद हुँदा उनले गोली चलाएर सुरेन्द्रको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
सुरेन्द्रको हत्या गरेर फरार रहेका कर्णको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल र सम्भावित अन्य स्थलमा समेत प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक बडूले बताए । अभियुक्तले चलाएको मोबाइलको लोकेशन समेत अध्ययन गरेर प्रहरीले खोजी कार्य गरिरहेको उनले बताए ।
घटना भएको पाँच दिनसम्म अभियुक्त फेला नपरेपछि प्रदेशबाट समेत अनुसन्धान टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए । उक्त घटनाको अनुसन्धानका लागि प्रदेशको टोली आजै आइपुग्ने उनले बताए । उनले भने,‘प्रहरीले यो घटनालाई गम्भीरतापूर्वक लिएको छ । फरार अभियुक्तको खोजी कार्य जारी रहेको छ ।हामीले सादा पोशाकका प्रहरी पनि खोजीका लागि खटाएका छौं ।’
जिप व्यवसायी समेत रहेका सुरेन्द्रको कलिलो उमेरमा हत्या गरिएपछि अहिले उनको परिवार विचल्लीमा परेको छ । सात महिना अगाडिमात्रै विवाह गरेका बिष्टकी श्रीमतीको विचल्ली एकातिर भएको भने घरपरिवारको विचल्ली अर्कोतिर भएको छ ।
यो भन्दा पहिला पनि मृग मारेको केसमा उन्मुक्ति पाएका कर्णबहादुरलाई राजनीतिक र आर्थिक आडमा भगाएको आशंका पीडित परिवारले गरेका छन् । घटना भएको पाँच दिन बितिसक्दा समेत अभियुक्त पक्राउ नपर्दा झन् त्रास फैलिएको मृतकका दाजु नरेश बिष्टले बताए ।