काठमाडौँ — काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको छ । यो जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज हो ।
यसको बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु थपेर यस्ले दुबई उड्नुपर्ने तालिका थियो । तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गरेका थिए ।
भैरहवामा निगमका २ जनामात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालय, भैरहवा विमानस्थल कार्यालयका घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरुलाई होटल लैजाने नियम अनुसार बिहान ४ बजेसम्म त्यहाँका विभिन्न होटलमा लगिएको थियो ।
निगम स्रोतका अनुसार काठमाडौंबाट उड्नुअघि यस्को फ्युल मिटर बदलेर करिब २ घन्टा ढिलो उडाइएको थियो । ‘निगमका कार्यकारी अध्यक्ष उपचारका लागि दिल्ली जानु भएको छ । यो इन सर्भिस समस्या भएकाले मर्मत सम्ब्नधी उहाँसँग कुराकानी भइरहेको छ,’ निगमका एक निर्देशकले भने, ‘अध्यक्षको निर्देशन अनुसार काठमाडौंबाट इन्जिनियर पठाएर मर्मत गराएर आजै बिग्रिएको जहाज दुबई पठाउने तयारी भइरहेको छ ।’