धनगढी: हाम्रा घर आगन तथा जगंलमा रहेको बेतबाँसको उपयोग नगरी बिभिन्न ठाउँमा काठबाट भनेका कुर्सी टेवल प्रयोग गर्ने प्रचलन बढ्दो छ । आफ्नै ठाउँमा रहेको बेतबाँसको प्रयोग गर्न नजान्दा घरमा आवश्यक पर्ने फर्निचरका लागी महगों शुल्क तिर्नुपर्ने बाध्यता छ । यसै बाध्यतालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेलामा बेतबाँसको तालिम दिइरहेको छ ।
स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिका १ को खुलामञ्चमा आयोजित सिप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम दिइदै आएको छ । रोजगार ब्यवसायी महासंघ सगंको सहकार्यमा उपमहानगरपालिकाले बिभिन्न २९ बिधामा तालिम दिइरहेको छ । सोही मेलामा उपमहानगरले २२ जना महिला र ३ जना पुरुषलाई बेतबाँसको तालिम दिइरहेको हो । हालसम्म तालिममा सहभागीहरुले मुडा, र्याक लगायतका सामग्री बनाउन सिकिसकेका छन् । हामी उत्तिकै घरमा बसिरहेका थियौँ धनगढी उपमहानगरपालिकाले निशुल्क सिप सिक्ने अवशर दियो र सहभागी भएका छौँ धनगढी उपमहानगरपालिका ७ की लक्ष्मी हमालले भनिन् “आफ्नै ठाउामा पनि केही गर्न सकिने रहेछ भन्ने यो १४ दिनको तालिमले आभास भएको छ, एकदमै राम्रा प्रशिक्षकले तालिम दिइरहनुभएको छ, ३० दिनमा हामी बेतबाँसका धेरै सामग्री बनाउन सक्छौँ, त्यसपछि बेतबाँस उपलब्ध भए घरमै ब्यवसाय शुरु गर्ने सोच बनाएकि छु ।”
बेतबाँसमा इच्छा भएका २२ जना महिला र ३ जना पुरुषले यो तालिम लिइरहनुभएको छ प्रशिक्षक ललिता चौधरीले भनिन् “यहाँबाट तालिम लिइसकेपछि उनीहरूको सिप र क्षमता अनुसार मासिक आम्दानी समेत गर्ने छन्, मेलामा ३० दिन तालिम लिएकाहरूले प्रयोगात्मक अभ्यासहरू भने गर्नुपर्ने, स्वरोजगारका लागि अभ्यास चाहिन्छ, निरन्तरता दिन आवश्यक हुन्छ, प्रयोगात्मक अभ्यासका लागि कुनै संस्थासँग अवध हुनुपर्ने हुन्छ। दक्ष भएपछि काम अनुसारको मूल्य पाउने हो, आम्दानी उनीहरूको हातको कुरा हो ।”
फागुन ८ गतेबाट शुरु भएको सिप तथा रोजगार मेला चैत ८ गतेसम्म सञ्चालन हुने छ । मेलामा बिभिन्न २९ बिधाका तालिम सञ्चालन भइरहेका छन् । मेलाको अवलोकनका लागी अन्य स्थानिय तहका जनप्रतिनिधी, सरकारी एवं गैर सरकारी निकायलाई समेत आयोजकले आग्रह गरेको छ ।