धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरी निर्माण गरेका कोल्ड स्टोरहरुको निर्माण सम्बन्धी सम्पूर्ण कागजपत्रहरु समितिमा पाँच दिन भित्र पेश गर्न निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले प्रदेश सरकारले निर्माण गरेका कोल्ड स्टोरहरु संचालनमा नआएको र केही कोल्ड स्टोरहरुको निर्माण अधुरो छोडिएकोले सो सम्बन्धी सम्पूर्ण कागजपत्रहरु समितिमा पाँच दिन भित्र पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
सामाजिक विकास समितिका सभापति धर्म राज पाठकका अनुसार बुधबार बैठक बस्नु अघि समितिले कृषि मन्त्रालयले निर्माण गरेका कोल्ड स्टोरहरुको अनुगमन गरेको थियो । समितिले अनुगमनका क्रममा मन्त्रालयका तर्फबाट निर्माण भएका १० वटा कोल्ड स्टोर मध्ये कुनै पनि संचालनमा नरहेको पाइएपछि बुधबारको बैठकमा मन्त्रालयका निमित्त सचिव गोकुल बोहरा र कृषि विकास निर्देशनालयमा निर्देशक खगेन्द्र प्रसाद शर्मालाई बोलाएर छलफल गरेको हो । छलफल पछि समितिले कोल्ड स्टोर निर्माणको कार्यविधि, ठेक्का सम्झौता सहित सम्पूर्ण कागजपत्रहरु पेश गर्न निर्देशन दिएको हो ।
केही कोल्ड स्टोर निर्माणमा खर्च भएको रकम बेरुजु समेत आएको देखिएकोले बेरुजुको विवरण समेत पेश गर्न निर्देशन दिइएको सभापति पाठकले जानकारी दिए । छलफलका क्रममा कृषि विकास निर्देशनालयका निर्देशक शर्माले कैलालीका चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माण गरिएका कोल्ड स्टोरहरु स्थानीय तहलाई हस्तान्तरण भएको र सञ्चालनको जिम्मेवारी उनीहरुले लिने गरी सम्झौता भएको बताए । निर्माण सम्पन्न भई हस्तान्तरण हुन बाँकी रहेका गोदावरीको अत्तरिया, अछामको साँफेबगर र बाजुराको बडिमालिकामा निर्माण भएका कोल्ड स्टोर बिजुलीको समस्यालाई कारण देखाएर सञ्चालन नगरिएको निर्देशक शर्माले जानकारी दिए ।
यी बाहेक निर्माण अधुरै छोडिएका कोल्ड स्टोर निर्माण गरिरहेका निर्माण ब्यवसायीहरुलाई काम सक्न बिभिन्न मितिमा पत्राचार गएिपनि काम सम्पन्न हुन नकसकेको मन्त्रालयका निमित्त सचिव गोकुल बोहराले बताए । निमित्त सचिव बोहराले मन्त्रालयले आफ्नो मातहतका कार्यालय मार्फत योजनाहरु कार्यान्वयन गर्दा स्थानीय स्तरमा हामीले ल्याएको योजना हो भन्दै काममा अवरोध गर्ने र स्थानीय तहहरुले पनि अघिल्लो पटकका जनप्रतिनिधिहरु संग भएको सम्झौता नया जनप्रतिनिधिहरुले नमानिदिँदा समस्या भएको बताए ।