कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलनबारे प्रदेश सभा सदस्यसँग फागुन २२ र २३ गते छलफल गर्ने भएको छ । उक्त छलफलका विषयमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, मुख्यन्यायाधिवक्ता, मन्त्रालयका सचिव तथा अन्य सरोकारवालाहरू सहभागी थिए ।बैठकमा सम्मेलनको तयारी, सम्भावित लगानी क्षेत्र, नीति सुधारका आवश्यक पहल तथा प्रदेश सभा सदस्यहरूसँग गरिन लागेको अन्तरक्रिया कार्यक्रमको विषयमा विस्तृत छलफल गरिएको थियो ।
बैठकमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशलाई आर्थिक रूपमा सबल बनाउनका लागि लगानीको आवश्यकतामा जोड दिँदै सम्मेलनलाई सफल बनाउन सबै पक्षहरू गम्भीर हुनुपर्ने बताए । उनले प्रदेशका विभिन्न क्षेत्रहरूमा निजी, सरकारी तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको उल्लेख गरे ।
मन्त्रालयका सचिवहरूले लगानी सम्मेलनलाई सफल बनाउनका लागि गरिएका तयारीबारे जानकारी गराएका थिए । बैठकमा प्रदेश सरकारले उद्योग, पूर्वाधार, पर्यटन, कृषि, ऊर्जा लगायतका क्षेत्रमा लगानी अभिवृद्धि गर्न लगानीकर्तालाई आकर्षित गर्ने नीतिगत सुधार तथा सहुलियतका उपायहरूबारे छलफल गरियो ।
त्यसैगरी, प्रदेश सभा सदस्यहरूसँग हुन गइरहेको अन्तरक्रिया कार्यक्रमबारे पनि छलफल गर्दै, प्रदेशको समग्र विकास, नीति निर्माण र बजेट विनियोजनका विषयमा गहन बहस हुने अपेक्षा गरिएको बताइएको छ ।