धनगढी – राष्ट्रपति रनिङ शिल्ड कैलालीको उपाधि घोडाघोडी नगरपालिकाले हात पारेको छ । आइतबार सम्पन्न १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५९ पदक सहित पहिलो स्थान हासिल गरेको हो । घोडाघोडीको कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालय पहलमानपुर र सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा घोडाघोडी नगरपालिकाले २५ स्वर्ण, १४ रजत र २० कांस्य गरी जम्मा ५९ पदक प्राप्त गर्यो ।
प्रतियोगितामा २४ स्वर्ण, ९ रजत र ५ कांस्य गरी ३८ पदकसहित धनगढी उपमहानगरपालिका दोस्रो र १२ स्वर्ण, १५ रजत र १२ कांस्य गरी ३९ पदकसहित गोदावरी तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ बिहीबारदेखि १५औँ कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा घोडाघोडी नगरपालिकाको सहआयोजनामा प्रतियोगिता भएको थियो ।