धनगढी: शिक्षा क्षेत्रमा एक विशेष पहिचान बनाउँदै आएको माईल स्टोन बोर्डिङ स्कुलले यस वर्षको ‘माईल स्टोन डे २०८१’ विशेष उत्साहका साथ मनाउने भएको छ । भानु चोक धनगढीमा रहेको स्कुलले फागुन २४ गते आयोजना हुने ‘माईल स्टोन डे २०८१’ कार्यक्रममा विविध सांस्कृतिक तथा नृत्य प्रस्तुतिहरू समेटिने भएका छन् । मौलिक पहिचान झल्काउने उद्देश्यले परम्परागत पहिरन सहितको बृहत र्याली समेत आयोजना गरिनेछ । जुन फागुन २४ गते बिहान ८ः३० बजे क्याम्पस चोकदेखि स्कुल प्राङ्गणसम्म हुने प्रिन्सिपल भुवन मल्लले जानकारी दिए ।
यस विशेष अवसरमा विद्यालय परिवारले अभिभावकहरूलाई पनि सक्रिय सहभागिताका लागि निमन्त्रणा गरेको छ । अभिभावकहरूले सञ्चालन गर्ने फुड स्टलहरू मार्फत विद्यार्थी, शिक्षक तथा अभिभावकबिच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष्य लिइएको छ । साथै, विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा अन्य विविध सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गर्नेछन् ।
माईल स्टोन बोर्डिङ स्कुलको नेतृत्वकर्ता प्रधानाध्यापक भुवन मल्ल सम्भवतः सुदूरपश्चिमकै कान्छा युवा प्रिन्सिपलको रूपमा रहेको ऐतिहासिक विशेषता समेत स्कुलले बोकेको छ । साथै, विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता र योगदानले यस वर्षको ‘माईल स्टोन डे २०८१’ झन् भव्य र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ ।