काठमाडौं: टिकटक र फेसबुक रिल्समा चर्चित मौलिक गीत गाएर भाइरल बनेकी राधिका बादीको निधन भएको छ । ४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४, थिरपुमा निधन भएको हो । कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार, राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्, र २०८१ फागुन १८ गते बिहान उनको मृत्यु भएको पुष्टि गरिएको छ ।
राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका-२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । विशेष गरी राधिकाको मादल बजाउने कला उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो । उनले मादल बजाएर ुनशा नशामा रगत रगतमा।। भन्ने गीत गाएको भिडियो भाइरल बनेको थियो । उनको उक्त भिडियो बाजुराका पत्रकार प्रकाश सिंहले बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।
राधिकाको निधनले कला प्रेमीहरू शोकमा छन् । सामाजिक सञ्जालमा उनका गीत तथा भिडियोहरू अझै पनि चर्चामा छन् । राधिकाको पहिलो घर बझाङमा भए पनि जोगेन्द्रसँग दोस्रो विवाहपछि उनी बाजुरामा बस्दै आएकी थिइन् । जोगेन्द्रको पहिलो श्रीमती अझै पनि उनको घरमै छिन् ।