धनगढी । इसराइल गजामा युद्धविराम लम्ब्याउन तयार भएको छ। पहिलो चरणको ४२ दिनको युद्धविरामको समय शनिबार सकिएलगत्तै रमजान सुरू हुने भएकाले पनि इसराइल युद्धविराम थप ४२ दिन लम्ब्याउन तयार भएको हो।
इसराइली मिडियाहरुका अनुसार युद्धविराम थप गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने दूत स्टिभ विटकफको प्रस्तावलाई इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अनुमोदन गरेका हुन्।
सो अवधिमा गजामा हमासको नियन्त्रणमा रहेका बाँकी बन्धक छाड्न पहल गरिने भनिएको छ। युद्धविरामको सम्झौताअनुसार नभए ४२ दिनपछि इसराइलले गजामा पुनः हमासलक्षित आक्रमण थाल्ने सर्त नेतन्याहूले राखेका छन्। इसराइल युद्धविराम लम्ब्याउन तयार भएपनि हमासले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
हमासका प्रवक्ता हाजिम क्वासेमले यसअघि पहिलो चरणणकै युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेको भनेर पनि रोयटर्सले लेखेको छ। नेतन्याहु भने हमास सहमत भए युद्धविराम लम्ब्याउन तयार रहेको बताएका छन्।
गजामा युद्ध भएको १५ महिनापछि माघ ५ गते युद्धविराम घोषणा भएको थियो। हमासले ३३ बन्धक र इसराइलले २ हजार कैदीबन्दी मुक्त गर्नेगरी माघ ५ गते युद्धविराम सम्झौता भएको थियो। सो अवधिमा हमासले ३० जना बन्धक र इसराइलले १७ सय बढी कैदीबन्दी छाडेको छ।