बैतडी: दुई दिन परेको हिउँदेझरीले गोकुलेश्वरमा जारी व्यापारिक मेला प्रभावति भएको छ । बिहीबारदेखिको वर्षाका कारण दार्चुला र बैतडीको सीमा बजार गोकुलेश्वरमा महाशिवरात्रिदेखि सुरु भएको मेला प्रभावित भएको हो । वर्षाका कारण मेलामा ग्राहक आउन नसक्दा व्यापार हुन सकेको छैन भने मेलास्थलमा पानी जमेर व्यापारीलाई सामान जोगाउन मुस्किल भएको छ । शनिबार वर्षा रोकिए पनि जाडो बढेको र मेलास्थल हिलाम्ये हुँदा ग्राहक आउन पाएका छैनन् ।
हरेक वर्ष यहाँ शिवरात्रिदेखि एक सातासम्म व्यापारिक मेला लाग्दै आएको छ । मेलामा दार्चुला र बैतडीका घरेलु उत्पादन र तिब्बती ऊनी कपडालगायतका सामानको व्यापार हुने गरेको छ । वर्षाका कारण ग्राहक नआएपछि सामान फर्काउनु पर्ने अवस्था आएको व्यापारीहरु बताउँछन् । दार्चुला, बझाङ, हुम्ला, मुगुलगायत हिमाली क्षेत्रका बासिन्दाले स्थानीय स्तरमा उत्पादन गरेका राडीपाखी, कम्बल, स्वीटरलगायतका ऊनी कपडा, निगालोका तथा काठका घरेलु उपयोगका बस्तु किन्न तराइबाट समेत ग्राहक आउने गरेका थिए । शिवरात्रिको भोलिपल्टदेखि चहलपहल हुने भए पनि यो वर्ष त्यसैदिनबाट वर्षा सुरु भएकाले मेलास्थल खाली रहेको छ ।