धनगढी । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुलह गर्न भनेर वाशिङ्टन गएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की निराश भएर फर्किए। ह्वाइट हाउसमा जेलेन्स्कीको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्की पर्यो, भनाभन भयो।
त्यसपछि खनिज सम्झौतामा हस्ताक्षर गर्ने विषयले प्रवेश पाएन। संयुक्त पत्रकार सम्मेलन पनि स्थगित भयो र ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न निर्देशन दियो।
सम्बन्ध थप बिग्रिएपछि जेलेन्स्की निराश भएर ह्वाइट हाउसबाट बाहिरिँदै अमेरिकालाई धन्यवाद भनेर एक्समा लेखेका थिए। ह्वाइट हाउसमा भएको चर्काचर्कीको भिडियो सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
चर्काचर्कीपछि युरोपेली नेताहरूले तत्काल प्रतिक्रिया जनाउँदै युक्रेन र जेलेन्स्कीको समर्थन गरेका छन्। उनीहरूले सामाजिक सञ्चाल एक्समा लेख्दै जेलेन्स्कीलाई आफ्नो समर्थन रहेको भनेर सन्देश दिएका छन्।
फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक रिपब्लिक, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग र आयरल्याण्डले युक्रेन र जेलेन्स्कीको समर्थन गरेका हुन्।
उनीहरूले जेलेन्स्कीको प्रशंसा पनि गरेका छन्। ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीलाई हैसियत नभएको नेता भन्दै रूससँग युद्धविराम सम्झौता नगरे युक्रेनलाई अमेरिकी समर्थन कायम नरहने भनेर धम्की दिएपछि युरोपेली नेताहरूले त्यसको प्रतिवाद गरेका हुन्।
युरोपियन कमिसनका प्रमुख उर्सुला भोन देर लेयनले निडर रहन जेलेन्स्कीलाई आग्रह गरेकी छन्। तपाईंको बहादुरीको सम्मान युक्रेनी जनताले गर्नेछन्। आफूलाई बलियो बनाउनुस्। साहस कायम राख्नुस् र निडर रहनुस्, प्रीय राष्ट्रपति,’ लेयनले एक्समा लेखेकी छन्।
सोमबार मात्रै वाशिङ्टनको भ्रमण गरेका फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले तीन वर्षअघि युक्रेनमा आक्रमण गरेपछि युक्रेनलाई सहयोग गर्नु र रूसमाथि प्रतिबन्ध लगाउनु अमेरिका र युरोपको निर्णय जायज रहेको बताएका छन्।
उनले अमेरिकालाई युक्रनेकै पक्षमा रहनुपर्नेमा जोड दिए। ‘उनीहरू सार्वभौम अधिकार, स्वतन्त्रता र पूरा युरोपको सुरक्षाका लागि लडिरहेका छन्,’ म्याक्रोनले एक्समा लेखेका छन्। जर्मनीको नयाँ चान्स्लर भन्ने तयारीमा रहेका फ्रेडरिक मर्जले पनि जर्मनी युक्रेनको पक्षमा रहने बताएका छन्।
‘जर्मनी सँधै युक्रेनको पक्षमा रहन्छ। अनुकूल र प्रतिकूल दुवै समयमा,’ उनले भनेका छन्, ‘हामी आक्रमणकारी को र पीडित को हो भन्ने विषयमा झुक्किनु हुँदैन। हालका चान्स्लर ओलफ स्कल्जले पनि युक्रेन जर्मनी र अन्य युरोपमाथि भर पर्नसक्ने बताएका छन्।
ह्वाइट हाउसमा चर्काचर्कीको घटनापछि बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवै जनासँग शुक्रबार कुराकानी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ। उनले बिहीबार मात्रै ह्वाइट हाउस भ्रमण गरेका थिए।
प्रधानमन्त्री कार्यालयले युक्रेनमाथिको अटुट समर्थन निरन्तर रहने बताएका छन्। उनले त्यहाँ शान्तिका लागि बाटो खोज्नका लागि पनि भूमिका खेल्ने बताएका छन्।
स्टार्मरले आइतबार नै जेलेन्स्की र युरोपेली नेताहरूलाई लन्डनमा बस्नेगरी बैठक बोलाएका छन्। हंगेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टर अर्बानले भने ट्रम्पको समर्थन गरेका छन्। उनी युरोपका प्राय निर्णयहरूमा सँधै विपक्षमा रहन्छन्। ‘शक्तिशालीले युद्ध रोक्छ, कमजोरले युद्ध जन्माउँछ,’ अर्बानले कसैको नाम उल्लेख नगरी एक्समा लेखेका छन्।
क्यानडाका विदेशमन्त्री मेलानी जोलीले पनि युक्रेनलाई समर्थन गर्ने युरोपेली नेताहरूसँग आफू पनि रहेको बताएकी छन्। ‘युक्रेन आफ्नोसँगै हामीहरुको स्वतन्त्रताका लागि पनि लडिरहेको छ,’ उनले रिपोर्टरहरूलाई शुक्रबार भनिन्।
क्यानडा ट्रम्पको कार्यकालको सुरूवातदेखि नै अमेरिकासँग विभिन्न विवादमा छ। ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने भन्दै आएका छन्।
अमेरिकी कुटनीतिज्ञ ड्यानियल फ्राइडदले ह्वाइट हाउसमा भएको चर्काचर्कीपछि युरोप झस्किएको बताएका छन्। त्यसले जेलेन्स्कीमाथि युरोपेली नेताहरूको सहानुभूतिको लहर ल्याएको पनि बताएका छन्।
ुउनीहरु डराएका छन्। निराश भएका छन्। जुन अमेरिकालाई उनीहरु देख्दै आएका थिए, चिन्दै आएका थिए त्यो अमेरिका केही हप्तामा बदलिन्छ भन्नेमा उनीहरू अवगत छन्,ु उनले भनेका छन्।
रूसविरूद्ध युक्रेनलाई लड्नका लागि अमेरिकासँगै युरोपेली देशहरूले पनि सहयोग गर्दै आएका छन्। युरोपेलीहरूले सहयोगको फाइदा लुटेको तर अमेरिकाले केही नपाएको भनेर ट्रम्पले युक्रेनसँग खनजि सम्झौता गर्न लागेका थिए।
खनिज सम्झौताका लागि सुरूमा जेलेन्स्कीले अस्वीकार गरिदिएका थिए। तर युक्रेनमा युद्ध अन्त्य गर्न रूससँगको वार्तामा युक्रेनलाई नै संलग्न नगराएपछि युरोप झस्किएको थियो।
ट्रम्पले रूसलाई फाइदा हुनेगरी सम्झौता गर्न सक्छन् भनेर युरोपेली राष्ट्रप्रमुखहरूले जेलेन्स्कीलाई खनिज सम्झौता गर्न सुझाव दिएका थिए। सम्झौतामा हस्ताक्षर गर्न भनेर शुक्रबार ह्वाइट हाउस पुगेका जेलेन्स्की त्यहाँ झगडा गरेर बाहिरिएपछ खनिज सम्झौता पनि अन्योलमा परेको छ।