बैतडी: बैतडीलगायत सुदूरपश्चिचमका पहाडी जिल्लामा बिहीवार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषकहरुमा खुशी छाएको छ ।
गत असोजदेखि बैतडीमा छिटफुट वर्षा भए पनि पर्याप्त पानी नपरेको डिलाशैनी गाउँपालिका कृषक तिलकबहादुर मालले बताए । यस्तै हिउँसँगै लगातार पानी परिरहेकोले चिसो बढेर दैनिक जनजीवन प्रभावित भएको छ । चिसोका कारण स्थानीय घरबाहिर विरलै निस्किएका छन् । सडक तथा बाटोमा पनि यात्रुको आवागमन कमै छ ।
बैतडीका कृषकहरुको मुख्य हिउँदे बाली गहुँ पानी नपरेका कारण हुर्कन सकेको थिएन । पानी परेपछि अन्न, फलफूल, जडिबुटी, पशुपालन फस्टाउने मेलौली नगारपालिका २का कृषक देवदत्त भट्टले बताए । हिमपातसँगैको पानीले कृषक र माटोलाई ठूलो फाइदा पुर्याउने र माटोलाई आवश्यक चिस्यान कायम राख्दै उर्वराशक्ति बढाउने दशरथचन्द नगरपालिका कार्यालयका कृषि प्राविधिक दीपक कार्कीले बताए ।