बैतडी: पञ्चेश्वरको उज्वल गाउँका विश्वकर्मा समुदाय दमाईंको शव बोकेर मलामी गएका छन्। दलितभित्र कायम रहेको जातीय विभेद हटाउन विश्वकर्मा समुदायका अगुवा दमाईंको शव बोकेर मलामी गएका हुन्।
पञ्चेश्वर गाउँपालिका–४, उज्वल गाउँकी कमला दमाईंको मृत्यु भएपछि परिवारमा शव बोक्ने मानिस नहुँदा विश्वकर्मा समुदायका वड र लोहार जाति संयुक्त रूपमा मलामी गएको स्थानीय जयराम लोहारले बताए। उज्वल गाउँमा विश्वकर्मा समुदायका ६८ परिवार भए पनि दमाईं जातिको दुई परिवारको मात्रै बसोवास रहेको उनले बताए ।
उनले भने, “पुरानो कुसंस्कार हटाउनुपर्छ भनेर संयुक्त मलामी गएका हौं। उज्वल गाउँमा केही वर्ष अघिसम्म विश्वकर्माले दमाईंको शव बोकेर मलामी जाने चलन थिएन । अहिले त्यस्तो विभेद छैन। कुसंस्कार सबै ठाउँबाट हटाउनुपर्छ भनेर लागि परेका छौँ।” गोरखापत्रबाट