धनगढी —सुदूरपश्चिम प्रदेशसभामा तेस्रो ठूलो दल माओवादी केन्द्र । प्रमुख प्रतिपक्षी दलको भएकाले प्रदेश सभा र सरकारलाई निगरानी गर्ने सवालमा खरो उत्रिनु पर्ने हो । तर त्यही प्रमुख प्रतिपक्षी दल एक वर्षयता आन्तरिक किचलोमा फसिरहेको छ ।
दुई वटा समूहमा विभाजित रहेको माओवादी केन्द्रको संसदीय दललाई एक ढिक्का बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहालले पटक-पटक लिखित र मौखिक निर्देशन जारी गर्दा पनि कार्यान्वयन हुन सकेको छैन । उल्टै विवाद झन्झन् गहिरिँदै गएको छ ।
०८० माघ १२ गते । त्यसबेला संसदीय दलको नेता थिए खगराज भट्ट । पार्टी पनि सरकारमा थियो । सभामुखबाहेक १० जना सांसद रहेको माओवादी केन्द्रका ६ जना सांसदले बहुमतका आधारमा भट्टलाई हटाउने निर्णय गर्दै अर्का नेता मानबहादुर धामीलाई दलको नेता बनाएपछि माओवादी संसदीय दल दुई चिरामा खण्डित भएको थियो ।
भट्टलाई दलको नेताबाट हटाउन सांसदहरू अक्कल बहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, गीतादेवी माल र लक्ष्मी विक एकजुट भएका थिए । भट्टको पक्षमा रहेका रमेशसिंह धामी, सांसद खगराज भट्ट र जानकीदेवी कुँवर र झपटबहादुर साउद भने बैठकमा अनुपस्थित रहेका थिए ।
०८१ असार १२ गते अध्यक्ष दाहाल र महासचिव देव गुरुङको संयुक्त हस्ताक्षरमा प्रदेश इन्चार्ज र अध्यक्षका नाममा भट्टलाई दलको नेता बनाउन लिखित निर्देशन जारी गरियो । तर उक्त निर्देशनलाई न त संसदीय दलले टेरपुच्छर लायो, न त पार्टी कमिटीले लागू गराउन सक्यो । दाहालको पहिलो निर्देशन यत्तिकै तुहियो ।
पार्टीको परामर्श बैठक क्रममा अध्यक्ष दाहालसहित पार्टीका शीर्ष नेताहरू धनगढी आएका बेला ०८१ भदौ १३ गते पनि भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन गरिएको थियो । त्यसअघि अध्यक्षले दुई पटक लिखित र पटकपटक दिएको मौखिक निर्देशन कर्यान्वयन नभएको भन्दै भट्ट समर्थक नेताहरुले आलोचना गरेपछि अध्यक्ष दाहालले पत्रकार सम्मेलनमै पनि खगराज दलको नेता हुने निर्णय छ भनेका थिए । तर उक्त निर्णय भने कार्यान्वय नहुन सकेन ।
दुई पक्षबीचको माथापच्छी बुधबारसम्म जारी रह्यो । सुदूरपश्चिम संसदीय दलभित्रको विवाद मिलाउन पटक-पटक गरिएको निर्देशन अवज्ञा भएपछि अध्यक्ष दाहालले बुधबार फेरि सबै सांसदलाई काठमाडौं बोलाए । ‘हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान’मा रहेका अध्यक्ष दाहाल सुदूरपश्चिमकै विषयमा छलफल गर्न केही घण्टाका लागि काठमाडौं पुगेका थिए । त्यस क्रममा पनि उनले प्रदेश सांसदहरूलाई विगतझैँ खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिए । यस पटक भने उनले निर्देशन मात्रै दिएनन्, समयसीमा नै तोकेका छन् । ‘२० गते म धनगढी आउँदैछु, त्यसअघि नै छलफल गरेर भट्टलाई दलको नेता बनाउनु भन्ने स्पष्ट निर्देशन दिनु भएको छ,’ दाहालको निर्देशन उद्धृत गर्दै एक सांसदले भने ।
यसपटक पनि अध्यक्ष दाहालको निर्देशन कार्यान्वयन हुने छाँट नदेखिएको सांसदहरू बताउँछन् । ‘भट्टलाई दलको नेता बनाउनैपर्ने अवस्थामा पनि जुन प्रक्रियाबाट धामी दलका नेता भएका हुन्, त्यही प्रक्रिया हुनुपर्ने हाम्रो (धामी पक्षधर) अडान हो,’ सांसद ओमविक्रम भाटले भने, ‘अध्यक्षले मानबहादुर धामीलाई मार्गप्रशस्त गर्न र भट्टलाई दलको नेता बनाउन निर्देशन गरे पनि धामीले आफू संसदीय दलको प्रक्रियाबाट निर्वाचित भएर आएको र त्यही प्रक्रियाबाट हटाउनु पर्ने अडान राखेका थिए ।’
उक्त छलफलका क्रममा दलका नेता भट्टलाई बनाउनु पर्ने हो भने पार्टीमा हाल सहइन्चार्जमध्ये कुनैलाई इन्चार्ज बनाउन आफूले प्रस्ताव गरेको भाट बताउँछन् । हाल उपमहासचिव गिरिराजमणि पोखरेल सुदूरपश्चिम इन्चार्ज छन् । उनले भट्ट समूहको मात्र नेताका रुपमा काम गर्दै आएकोले विवाद सुल्झिन नसकेको भाटको भनाई छ ।
अर्कोतिर अध्यक्षले नै बारम्बार निर्देशन गर्दा पनि कार्यान्वयन नहुने कुरा कल्पना गर्न नसकिने विषय भएको माओवादी केन्द्रका एक नेता बताउँछन् । ‘अध्यक्षको निर्देशन नमान्ने कसको ताकत छ र पार्टीभित्र ?,’ प्रदेश कमिटिका ती नेताले भने ‘अध्यक्षले नै दोहोरो भूमिका गरिरहेको हाम्रो बुझाइ छ ।’
सांसदहरूका अनुसार हाल दलका नेता धामी र भट्टको पक्षमा बराबर सांसद छन् । भट्टको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर रहेका छन् । भट्टलाई हटाउने बेला धामीका पक्षमा लागेका ओली पछि भट्टकै पक्षमा उभिएका थिए । यता धामीको पक्षमा अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी माल रहेका छन् ।
कान्तिपुरबाट