कैलालीः कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डाक्टर प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ। जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखरप्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर खगेन्द्र बममार्फत सहसचिव डाक्टर बुढाथोकीलाई सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराएको हो।
जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न त्यहाँ पुगेका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गरेका थिए।
सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाद्वारा सम्पादित स्वास्थ्य सेवा प्रवाहका बारेमा जानकारी गराउँदै हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ थालनी गरिएको र सङ्घीय सरकारले उपमहानगरपालिकालाई थप स्वास्थ्य क्षेत्रमा थप लगानी बढाउन आग्रह गरे।