धनगढी – कैलालीको धनगढीमा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियम लिगको उपाधि भीमदत्त नगरपालिकाले उचालेको छ । बुधवार फाप्लामा सम्पन्न फाइनलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भीमदत्तले उपाधि उचालेको हो ।
उपाधि सँगै भीमदत्तले नगद २ लाख हात पारेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ । भीमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । भीमदत्त नगरपालिकाका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । पुनर्वास नगरपालिकाका लागि भोजराज भट्टले ३ विकेट लिए पनि टिमलाई जिताउन भने सकेनन् । कृष्ण कार्की र सागर भण्डारीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका बी ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनायो । पुनर्वासका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका वसन्त सिंह कार्कीले आक्रामक ब्याटिङ गरे । ४० बलको सामना गरेका कार्कीले ७ चौका र ४ छक्काको मद्दतले अविजित ७२ रनको पारी खेले । त्यस्तै कप्तान विपिन रावल ३८ रन,सुवास ऐर १८ रन,नवयुग बस्नेत १४ रन बनाए भने आशिष् लुहार १२ रनमा रिटार्यड आउट भए । भीमदत्त नगरपालिकाका लागि साजन बिटालु, किरण चन्द,सन्तोष भट्ट र समीर विष्टले समान एक एक विकेट लिए ।