धनगढी: नेकपा (एमाले) मा केन्द्रिय सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले देशको बलियो शक्ती भएकै कारण चौतर्फी आक्रमण भइरहेको बताएका छन् । पार्टी सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा आजबाट धनगढीमा सुरु भएको प्रचारसम्बन्धी दुई दिने कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै भट्टले एमाले सबैभन्दा बलियो शक्ती भएकै कारण चौतर्फी आक्रमण बढेको बताएका हुन् । सामान्य ब्यक्ती वा सगंठन प्रति कसैको चासो हुँदैन उनले भने “एमाले सबैभन्दा ठुलो सगंठन, ब्यवस्थित एवं चलायमान भएकै कारण हाम्रो पार्टीलाई कसरी पछाडी पार्न सकिन्छ भनेर आक्रमण बढेको छ, तथ्यमा टेकेर भन्दापनि मित्थ्या आरोप एमाले नेतृत्वमाथी बढिरहेको छ, यसको प्रतिकार सबै नेता कार्यक्रताले गर्न जरुरी छ ।”
भट्टले वडा केन्द्रित जरा अभियान प्रभावकारी बनाउन एमाले नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले एमाले नेता, कार्यकर्तालाई घर घर पुग्न आग्रह गर्नुभयो । “कहाँ के भइरहेको छ, त्यसको रिपोर्टिङ छैन”, सचिव भट्टले भने, “जनताको बिचमा एकाकार हुनुस अनिमात्र चुनावी परिणाम राम्रो आउँछ ।”
उनले औपचारिकताका लागि मात्रै नभइ उपलब्धि आउने गरी कार्यक्रम गर्न आग्रह गरे । यस्तै, पार्टी स्थाई कमिटि सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपाली बजारमा नेकपा (एमाले) र सिंगो नेतृत्वविरुद्ध सोसल मिडियाको प्लेटफर्ममार्फत प्रहार भइरहेको बताए । उनले मिथ्या सूचना, गलत सूचना, तथ्यहीन सूचना प्रयोग गरेर एमाले पार्टी र सिंगो नेतृत्वविरुद्ध भइरहेको प्रहारको प्रतिवाद गर्ने सम्बन्धमा कार्यशालामा गहन छलफल हुने बताए ।
उनले भने, “काठमाडौंका प्रमुख बालेन एक्लैले फुर्र्र गरेर सामाजिक सञ्जालमार्फत एमाले र एमालेका नेतृत्वविरुद्ध प्रयोग भएकै छ । रवि लामिछानेका समर्थक र माओवादीबाट पनि त्यस्तै छ ।” एमाले पार्टी र नेतृत्वविरुद्ध निरन्तर प्रहार भइरहँदा पनि नेतृत्वले यसबारे नबोल्नु आश्चर्यको विषय रहेको गौतमको भनाइ थियो । उनले यस विषयमा पार्टी पंक्ति एकदम मौन रहेको र कहिँ पनि नबोलिरहेको उल्लेख गरे । कार्यशालामा नौ वटै जिल्लाका एमाले नेता, कार्यकर्ता लगायतको प्रतिनिधिमूलक सहभागिता रहेको छ ।