धनगढी । भगवान् शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी धनगढीमा पनि मनाउन लागिएको हो ।
परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता अनुसार धनगढीको शिवपुरी धाम, बेहडाबाबा मन्दिर, शिवनगरको शिवमन्दिर, लगायत मन्त्रदिरमा भक्तजनहरुको भिडभाड छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
त्यस्तै कैलालीको घोडाघोडी मन्दिरमा महाशिवरात्रि पर्वका अवसरमा दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि भिड लागेको छ । विश्वरामसार सूचीकृत जैविक विविधताले महत्त्वपूर्ण घोडाघोडी तालको जति महत्त्व छ उतिनै समिपमा रहेको घोडाघोडी मन्दिरको समेत रहेको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।