धनगढी: कैलालीको अत्तरियामा सीवाइसी स्पोर्ट लिग आयोजना गरिने भएको छ । अत्तरियाको न्यू सृर्जनसिल युवा क्लब ९सीवाइसी० को आयोजनामा फागुन १९ गते देखि स्पोर्ट लिग आयोजना गर्न लागिएको हो । लिग अन्तर क्रिकेट, फुटबल र भलिबल खेल खेलाइने सोमबार अत्तरिया आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा क्लब भित्रकै ८ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष नर बहादुर राईले बताए । उनले गोदावरी क्षेत्रका पर्यकटिय क्षेत्रका नाम समेटिने गरी ८ वटा टिम तयार गरिएको बताए । जसअन्तर्गत सीवाइसी गोदावरी धाम, सीवाइसी हाटखोली–गाजरी, सीवाइसी बुढितोला पोइन्ट, सीवाइसी लामिताल, सीवाइसी नायल ताल, सीवाइसी मछेली खोला र सीवाइसी भल्का धाम रहेका छन् । उनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने गरी टिमको नामाकरण गरिएको बताए ।
प्रतियोगितामा हरेक उमेर समूहका खेलाडीले सहभागी हुन पाउने छन् । हरेक टिममा कम्तीमा ४ जना भेट्रान समूहको अनिवार्य गरिएको अध्यक्ष राईले बताए । चौथो संकरणको रूपमा केही खेल थप गरी लिगको आयोजना गरिएको क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले बताए । उनले प्रतियोगितामा सबै उमेर समूहका खेलाडी संयुक्त रूपमा खेलाइने भएकाले अनुभव आदानप्रदानमा पनि सहयोग पुग्ने बताए ।
खेल संयोजक रजत शाहीले प्रतियोगिता सम्पन्न गर्नको लागि खेलाडीको नाम टुङ्गो लगाइसकेको बताए । उनले क्लबमा आबद्ध भएका र गोदावरी क्षेत्रमा विभिन्न सामाजिक क्षेत्रमा जोडिएकाहरूलाई प्रतियोगितामा सहभागी गराइएको बताए । ‘सीवाइसी वार्षिक खेलकुद उत्सव’ का रूपमा आयोजना गरिएको प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ । प्रतियोगिता चैत १ गते सम्पन्न हुने छ । २०५४ सालमा स्थापना भएको सीवाइसी हालै धनगढीमा सम्पन्न अर्जुन ट्रफिको विजेता टिम पनि हो । यो क्लबले देशकै विभिन्न लिगहरूमा सहभागिता जनाउनुका साथै विभिन्न सामाजिक काम पनि गर्दै आएको छ ।