धनगढी । कैलाली प्रहरीले झन्डै ३१ लाख मूल्य पर्ने चोरीका सवारीसाधन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकासहितका स्थानबाट अवैध रुपमा चलाइएका चोरीका सवारीसाधन बरामद गरेको जनाएको छ । बरामद गरिएका मध्ये एउटा स्कारपियो र ९ वटा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।
उनकाअनुसार करिब २० लाख मूल्य पर्ने बा. प्र. ०१-०३१ च २७२६ नम्बर प्लेट टासेको अवस्थामा धनगढी उप-महानगरपालिका-७ बाट स्कारपियो बरामद गरिएको थियो । तर, यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा बुझ्दा उक्त नम्बरको गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएकाले स्कारपियोलाई भन्सार ऐन नियम बमोजिम आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको एसपी विष्टले बताए ।
यस्तै, धनगढी उपमहानगरपालिका–९ बाट अन्दाजी १० लाख ८० हजार बराबरका मोटरसाइकल पनि बरामद गरिएको छ । बरामद गरिएका मोटरसाइकलमा युपी १४ एफडब्लु ३५८१ भारतीय नम्बरको र अन्य नेपाली नम्बर प्लेटका मोटरसाइकल रहेका छन् । प्रहरीकाअनुसार बा ९० प २३४०, बा ९७ प ५०४६, से।६ प ९३२७, सु।प।प्र।०१–०११ प १६८७, से।१ प ७४११, से।२ प ३७३३, बा।प्र। ०२–०२० प ७९४ र सु।प।प्र। ०१–०१० प ८५६६ नम्बर टासेका मोटरसाइकल बरामद गरिएको हो ।
ती मोटरसाइकलबारे यातायात व्यवस्था कार्यालयमा बुझ्दा इन्जिन नम्बर र च्यासिस नम्बरहरु मेल नखाएपछि आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।