धनगढी । कैलालीमा साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाबाट शुक्रबार दिउँसो चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका ४६ वर्षीय घोडे धामी रहेको जानकारी दिए ।
उनकाअनुसार बोहरालाई बडैपुर र धामीलाई अत्तरियाबाट पक्राउ गरिएको हो । बोहराले बडैपुरमा सञ्चालन गरेको नास्ता पसलमा खाटमुनी कालो प्लाष्टिकमा लुकाएको अवस्थामा एक किलो ६६५ ग्राम चरेससहित पक्राउ गरिएको उनले बताए ।
यस्तै, बझाङका धामीलाई गोदावरी नगरपालिका–३ को चौकिडाँडाबाट पक्राउ गरिएको हो । मालाखेती अस्पताल जाने सडकमा हिडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा धामीलाई दुई किलो आठ सय ६० ग्राम चरेससहित पक्राउ गरिएको डीएसपी बोहराले बताए । उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।