धनगढी । सुदूरपश्चिम प्रदेश संसदीय समितिको निर्वाचन आइतबार १ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिको निर्वाचन १ बजे हुनेछ भने विशेषाधिकार समितिको निर्वाचन आइतबार दिउँसो २ स् ३० बजे हुने प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन प्रक्रिया भने शनिबारबाटै सुरू हुनेछ । शनिबार दिउँसो १० बजे नामावली प्रकाशन ११ बजेदेखि ११स्३० सम्म दाबी विरोध, १२बजेसम्म अन्तिम नामावली प्रकाश, १ बजेदेखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने निर्वाचन तालिकामा रहेको छ ।
आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।
विशेषाधिकार समितिको निर्वाचन भने २ स् ३० बजे हुने सचिव देवबहादुर बोगटीले जानकारी दिए । पहिलो चरणमा सबै समितिहरूले सभापति पाइसकेको थियो । तर, चारमध्ये तीन समिति सभापति मन्त्री बनेपछि रिक्त ठाउँमा निर्वाचनको मिति दुई पटकसम्म तोकेर सरेको थियो ।
पहिलो पटक असोज ११ गते नामावली प्रकाशन गरेर १२ गते निर्वाचनको तयारी गरिएको थियो । त्यो बेला सहमति नजुटेपछि माघ १७ गते नामावली प्रकाशन गरेर १८ गते अर्को मिति तोकियो । त्यो मितिमा पनि निर्वाचन हुन सकेन । तेस्रो पटक फागुन ३ गते नामावली प्रकाशन गरेर ४ गतेका लागि मिति निर्धारण गरिएको छ । तेस्रो पटक तोकिएको मितिमा भने दलहरू निर्वाचनको तयारीमा जुटेका छन् ।
को को बन्दै छन् सभापति ?
११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।
विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो । उक्त समितिमा कांग्रेसले मधु भारती र तुलसी देवकोटाको नाम सिफारिस गरेको थियो । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले देवकोटाको सभापति बनाउने निर्णय गरेको छ । आइतबार विशेषाधिकार समितिको सभापतिमा देवकोटा निर्वाचित हुनेछिन् ।
सत्ता गठबन्धनको भागबन्डामा माओवादी केन्द्रको भागमा परेको सार्वजनिक लेखा समितिमा माओवादीका तीन सांसद छन् । संसदीय दलका नेता मनबहादुर धामी, उपनेता अक्कल रावल र प्रमुख सचेतक गीतादेवी माल सदस्य रहेको उक्त समितिमा रावल सभापति बन्ने करिब निश्चित छ । माओवादी संसदीय दल भित्रको विवादका कारण अर्को कुनै निर्णय नभएसम्म रावललाई सार्वजनिक लेखा समितिको सभापति बनाउन करिब तीन सांसद सहमत छन् ।
नागरिक उन्मुक्ति पार्टीको भागमा परेका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नाउपाका घनश्याम चौधरीले एक्लै सदस्य छन् । उनी संसदीय दलका नेता समेत हुन् । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा यसअघि नै सभापति भइसकेका चौधरी आर्थिक मामिला मन्त्री नियुक्त भएपछि समिति सभापतिबाट हटेका थिए । अहिले फेरि चौधरी नै सभापति बन्ने निश्चित छ ।
नेकपा एमालेको भागबन्डामा परेको सामाजिक विकास समितिमा एमालेका तर्फबाट धर्मराज पाठक एक्ला सांसद छन् । उक्त समितिको नेतृत्व पाठकले गर्ने करिब निश्चित छ ।