बुटवल — बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । एकै प्रकृतिको मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई भने अदालतले १ करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
सोमबार अदालतमा उपस्थित भएका जोशीलाई न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ‘प्रतिवादीले जानीजानी कसुर नगरेको आधार नदेखिँदा हाललाई थुनामा राखी पुर्पक्ष गराउनु भन्ने आदेश भएको छ,’ जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले भने, ‘थप प्रमाण पछि बुझ्दै गएअनुसार हुनेछ ।’ यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए । उनीविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ ।
सुप्रिम सहकारी ठगीमा मुद्दामा लामिछानेलाई भने न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले धरौटीमा छोड्ने आदेश गरेको थियो । अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा ‘लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी धरौटीमा छोड्ने आदेश दिएको थियो ।
सुप्रिम सहकारी ठगीमा लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग दर्ता गरेपछि लामिछाने र जोशी अदालतमा उपस्थित भएका हुन् । अन्य प्रतिवादी अझै फरार छन् । पूरक अभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । सुप्रिमबाट जोशीका नाममा व्यक्तिगत २ करोड ५० लाख र सामूहिक दायित्वअन्तर्गत १० करोड ९९ लाख ऋण लिएको देखिएको छ । यसअघि गत वैशाखमा गितेन्द्रबाबु ९जीबी० राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । तीमध्ये १७ जनाविरुद्ध थप अभियोगसहितको मुद्दा पनि दर्ता भएको छ ।