धनगढी । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका छन् । आज भएको फाईनल खेलमा छक्का प्रहार भएको बललाई समातेका ललीतले ब्रेड बक्सको तर्फबाट नगद एक लाख प्राप्त गरेका हुन् ।
ब्रेड बक्सले फाईनल खेलमा प्रहार भएको छक्का समात्ने पहिलो दर्शकलाई नगद एक लाख पुरस्कार घोषणा गरेको थियो । यस्तै अन्य छक्का प्रहार भएको बलमा पनि क्याच गरेमा प्रति क्याच १० हजार घोषणा गरिएको थियो ।
फाईनल खेलमा ललीतले दोस्रो क्याच गरेका हुन् । यसअघि हिजो भएको सेमिफाईनलमा पहिलो क्याच गर्दै बैतडीका हरिश भाटले ५० हजार पुरस्कार पाएका थिए ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ललीत ऐर आज भएको फाईनल खेल हेर्नका लागि चार जना काकाहरुसँगै फाप्लामा पुगेका थिए । चन्द सुर्य सेकेन्डरी स्कुलमा कक्षा १२ मा पढिरहेका उनले पाएको एक लाख पढाईमा लगानी गर्ने बताएका छन् ।