धनगढी: कैलालीको गोदावरी वडा नम्बर १ र ६ मा रहेको बडेहा-बिजौरा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा चेतराज पन्त १४१ मतसहित विजयी भएका छन्। अध्यक्षका प्रतिस्पर्धी उम्मेदवार रमेश बलायरले ८३, मान बलायरले ५६, बलबहादुर चौधरीले ४८, र रमेश प्रसाद भट्टले ७२ मत प्राप्त गरेका थिए।
वडा नम्बर १ का सदस्य समेत रहेका पन्तकै समूहबाट उपाध्यक्षमा गिरीराज भण्डारी १७६ मतसहित विजयी भए। उपाध्यक्षका प्रतिस्पर्धी गणेश महराले १२५ र दुर्गा देवी जोशीले ६४ मत पाए। सचिबमा मान बलायर समूहका उम्मेदवार उत्तम महरा १ मतको अन्तरले लक्ष्मीराज भट्टलाई पराजित गर्दै विजयी भए।
कोषाध्यक्षमा पन्त समूहकै चित्राकुमारी भट्ट २१७ मतसहित विजयी भइन् भने बिपनीकुमारी चौधरीले १२५ मत प्राप्त गरिन्। शनिबार सम्पन्न निर्वाचनमा ६०७ मतदातामध्ये ४६७ जनाले मतदान गरेका थिए। यो खानेपानी संस्थाले गोदावरीको वडा नम्बर १ र ६ मा पानी वितरण गर्दै आएको छ।