धनगढी । नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई आफ्नो टीमबाट खेलाउने भएको हो । प्रतियोगिताको दोस्रो सेमिफाईनलमा भोली डिसिए धनगढीले सिवाईसी अत्तरियासँग खेल्दैछ । भोलीको खेल रोमाञ्चक हुने भएको छ । डिसिएबाट दिपेन्द्र सिंह ऐरी, ललीत राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरु रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम, रसिद खान लगायतका खेलाडीहरु रहेका छन् । दुबै टोलीहरुको खेल प्रतिस्पर्धात्मक हुने भएको छ ।त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा प्रवेश गरेको हो । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्यु होराईजन बुटवलमाथि ५ विकेटको जित सहित उपाधि नजिक पुगेको हो ।
शनिबार भएको पहिलो सेमिफाईनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले १६।१ ओभरमा सवै विकेट क्षतिमा ८२ रनमा समेटियो । बुटवलका लागि आरिफ खानले सर्वाधिक २० रन बनाए । टीमका लागि दिपक डुम्रेले १८ रन र निश्चल ज्ञवालीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् । बुटवलका तीन खेलाडी शुन्यमा आउट भए । बुटवलको पारी ध्वस्त बनाउने क्रममा कुशल भुर्तेलले सर्वाधिक ५ विकेट लिए । प्रतियोगितामा उनी ५ विकेट लिने तेस्रो खेलाडी भएका छन् । ३।१ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । बुटवललाई कम रनमा समेट्ने क्रममा अजय चौहानले पनि तीन विकेट लिए । हेमन्त धामी र अशोक धामीको नाममा एक एक विकेट रह्यो ।
८३ रनको सामान्य लक्ष्य बोकेर मैदान उत्र्रिएको फेण्ड्स क्लब डडेल्धुराले १५ ओभरमा ५ विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । डडेल्धुराका लागि ओपनरको रुपमा मैदान प्रवेश गरेका कुशल भुर्तेलले ४६ रनको पारी खेले । २५ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । पहिलो विकेटका लागि कुशलले अर्का ओपनर आयुष्मान बमसँग ५६ रनको अर्धशतकीय साझेदारी समेत गरे । आयुष्मानले १६ रन बनाए । बुटवलका लागि प्रिन्स पलले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । खेलमा ४६ रनको पारी खेल्दै पाँच विकेट लिएका डडेल्धुराका कुशल भुर्तेल नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिता अन्तर्गत भोली प्रतियोगिताको दोस्रो सेमिफाईनलका खेल हुनेछ । भोली हुने दोस्रो सेमिफाईनल खेलमा समुह बी को विजेता सिवाईसी अत्तरिया र समुह ए को उपविजेता डिसिए धनगढी फाईनल प्रवेशका लागि खेल्नेछन् । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।