बैतडी–बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धामको ऐतिहासिक र पौराणिक महत्वका बारेमा पुरातत्व विभागले चासो दिएको छ । शुक्रबारमात्रै जात्रा सम्पन्न भएको वनारसी धाममा शनिबार पुरातत्व विभागका अधिकृत राजेश परियारले अवलोकन गरेका छन् । वनारसी धाममा पुगेर यसको सांस्कृतिक र ऐतिहासिक बिशेषताको बारेमा जानकारी लिएको परियारले बताए ।
वनारसी धाममा अमूर्त संस्कृति रहेको र यसलाई संरक्षण गर्नु आवश्यक रहेको परियारले बताए । वनारसी धामको ऐतिहासिक र सांस्कृतिक महत्वका बिषयमा पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्ट लगायतका सरोकारवाला व्यक्तिहरुसंग छलफल गरिएको उनले बताए । सामाजिक सदभाव र विभेद अन्त्यका लागि वनारसी धामको संस्कृति निकै महत्वपूर्ण रहेको बताउँदै अधिकृत परियारले यसको सभ्यता अध्ययनमा विभागले काम गर्ने बताए ।