धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिकाले बुधवारबाट निःशुल्क महाप्रस्थान यान (शव बाहान) सञ्चालनमा ल्याएको छ । यान सञ्चालन भए सँगै शोक र पीडाका बिच शवलाई आर्यघाटसम्म लैजान सवारी साधन खोज्नु पर्ने बाध्यताको अन्त्य हुनेछ । बुधवार महाप्रस्थान यान (शव बाहान) सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले विपन्न नागरिकहरूका लागी यो यान निकै प्रभावकारी हुने बताए । “मृत्यु सत्य हो । हामी पनि एक दिन जानु नै छ । संसारमा रहँदा सम्म दुख गरेको र पाएको मानिसले मृत्यु परन्तु पनि दुखै पाएको अवस्था थियो । असहज रूपमा ट्र्याक्टरमा, कतिपय त त्यसैमा दाउरा पनि बोकेको देखेको छु । बाहान नहुँदा शवले दुःख पाउने, किरिया बस्ने र अन्य आफन्तले अनावश्यक दुःख पाउने, शव यात्रा गर्न गाह्रो हुने अवस्था थियो । यस्ता समस्यालाई समाधान गर्न हामीले पालिकाभरिका लागी निःशुल्क रूपमा शव बाहान सञ्चालन गरेका हौ ।” उनले भने ।
किरिया खर्च दश हजार दिइने
बर्दगोरिया गाउँपालिकाले महाप्रस्थान यान ९शव बाहान० सञ्चालन गरे सँगै मृतकको काज किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अति विपन्न परिवारका आफन्तले काज किरिया गर्न समेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न गाउँ सरकारले यो रकम उपलब्ध गराउने जनाएको छ । सरकार भनेको जनताको दुःखको सारथि बन्नु पर्छ भन्ने हाम्रो सोच छ । पालिका अध्यक्ष कुँवरले भने,‘ “किरिया खर्च बापत दश हजार रुपैयाँ दिने निर्णय गरेका छौ । यद्यपि यसको कार्यविधि लगायतका अन्य प्राविधिक कुराहरू चाँडो भन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागि परेका छौ ।”
निःशुल्क शव बाहान र किरिया खर्च बापत दश हजार पनि पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही मलहमको काम गर्ने अपेक्षा गरिएको छ । बर्दगोरिया गाउँ सरकारले एक पछि अर्को जनपक्षिय काम गर्न थालेपछि नागरिकहरूले सरकार भएको अनुभूति गरेको भन्दै यसलाई सङ्घीयताको उपलब्धिका रूपमा प्रतिक्रिया समेत दिएका छन् ।