धनगढी: सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक गणेश चन्दले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका ५ भिमदत्तपुरमा निर्मित प्रहरी चौकीको उद्घाटन गर्दै प्रहरी नायब महानिरिक्षक चन्दले अपराध अनुसन्धान तथा नियन्त्रणमा स्थानिय तह एवं नागरीक समाजसँग हातेमालो गरी कार्य गर्न समेत निर्देशन दिए ।
भवन उद्घाटन गर्दै चन्दले आलिताल गाउँ पालिकाले आफ्नै योजना र बजेटमा प्रहरी चौकी भवन निर्माण गरि हस्तान्तरण गरेकोमा गाउँपालिका परिवारलाई धन्यवाद दिए । प्रहरी चौकीका लागि स्थानिय सरकारद्वारा नयाँ भवन निर्माण भई हस्तान्तरणले प्रहरी र समाज बिचको आपसी सम्वन्ध प्रष्ट भएको र नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च हुने उनको भनाई थियो । सुबिधा सम्पन्न भवनले कार्यरत प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने हुँदा प्रहरी कर्मचारीहरुले नागरीक मैत्री प्रहरी सेवा प्रदान गर्ने कुरामा आफु बिश्वस्त रहेको उनले बताए । आम नागरिकहरुलाई प्रदान गरिने सेवा समय सापेक्ष र गुणस्तरीय हुनुपर्ने उनको धारणा थियो ।
प्रहरी नायब महानिरिक्षक चन्दको प्रमुख आतिथ्यता एवं आलिताल गाउँपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहराको बिशिष्ट अतिथ्यतामा प्रहरी चौकी भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । आलिताल गाउँपालिकाद्वारा आफ्नै विनियोजित वजेट ४७ लाख ५४ हजार ७ सय ५२ रुपयाँ मा २ तले ७ कोठे भवन जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख सुगन्ध श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।