धनगढी । ठूलठला भवन र चौडा सडक बनाउनु मात्रै बिकास नभएको सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले बताएका छन् । प्रदेशसभा अन्तरगतको सामाजिक विकास समिति सदस्यसमेत रहेका सांसद पाठकले बुधवार कैलालीको धनगढीमा सरकारले ल्याएको अपाङ्गता भएका ब्यक्तिहरु सम्बन्धी राष्ट्रिय नीति २०८० बारेमा सरोकारवालालाई प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।
“ठूल–ठूला भबन र चौडा सडक बन्नु मात्रै बिकास मानिने रहेनछ, बिकास निर्माणका ती संरचनामा सबै जनसमुदायको पहुँच भए मात्रै बिकास भन्न सकिन्छ ।“ त्यसैले त्यस्ता ठूला भवन र चौडा सडक अपाङ्गतामैत्री हुनपनि जरुरी रहेको उनको भनाई थियो । अपाङ्गताका क्षेत्रमा विभिन्न कानुन बने पनि लागू हुन नसक्दा समस्या हुने गरेको भन्दै उनले हिजोका दिन भन्दा आज थुर्पै राम्रा कामहरु भइरहेको दावी गरे । तर, जति हुनुपर्ने हो त्यति हुन नसकेको उनको भनाई थियो ।
कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघ कैलालीका अध्यक्ष निर्मला विष्टले अपाङ्गता भएकालाई अझै पनि बैंक खाता खोल्न, अंश हक, बिमा गर्ने जस्ता कुरामा समस्या रहेको बताइन् । यस्तै, बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका उद्धवराज अवस्थीले समावेशी शिक्षामा सबैको पहुँच हुनुपर्नेमा जोड दिंदै तीन तहकै सरकारले बजेट बढाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरुका लागि छुट्टै विद्यालय बनाउनु भन्दा उनीहरूलाई पनि अन्य बिद्यार्थीसंगै राखेर शिक्षा दिन सकिएमा महत्त्वपूर्ण उपलब्धि हुने बताए । अपाङ्गता भएका बिद्यार्थीहरुलाई अन्य बिद्यार्थीसंगै राख्दा बढी कुरा जान्ने अवसर मिल्ने र समाजमा घुलमिल हुन सहज हुने उनको भनाई छ ।
कार्यक्रममा कानूनविद मुकुन्द दाहालले सहजिकरण गर्दै अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति २०८० र प्रादेशिक नीति २०८१ बारे जानकारी दिएका थिए । उनले समावेशी विकाशका लागि वकालत क्षमता, समावेशी शिक्षामा सबैको पहुँच लगायतमा विषयमा समेत अभिमुखीकरण गरेका थिए । दुई दिनसम्म चलेको उक्त कार्यक्रम युएनडिपी र बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको सहकार्यमा भएको हो ।
कार्यक्रममा सुदूरपश्चिमका अपाङ्गता भएका ब्याक्ति, उनीहरुका अभिभावक, शिक्षक लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।