धनगढी: साइबर ठगीको जालो नेपालमा समेत फैलिँदै गर्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २२ वर्षीय माइकल डंगौरालाई पक्राउ गरेको छ । डेढ वर्षकै अवधिमा करोडौं रुपैयाँको सम्पत्ति जोड्न सफल यी युवाले साइबर अपराधमार्फत ठगी धन्दा चलाउँदै आएका थिए ।
२२ वर्षकै उमेरमा करोडौंको सम्पत्ति
कैलालीको बर्दगोरिया गाउँपालिका–६ स्थायी घर भएका माइकल डंगौरा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भंगालमा बस्दै आएका थिए । सूचना प्रविधि ९आईटी० विषयमा स्नातक अध्ययनरत उनी कुनै व्यवसाय वा जागिरमा संलग्न नभएर पनि अकस्मात करोडौंको मालिक बनेपछि प्रहरीको अनुसन्धान दायरामा परे । सीआईबीका अनुसार माइकलले काठमाडौंको भंगालमा साढे ३ करोड रुपैयाँमा घर किनेका थिए । त्यस्तै, उनको बैंक खातामा ४ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । साथै, उनले ठगीबाट खरिद गरेको क्रेटा गाडी प्रहरीले बरामद गरेको छ । माइकलको गाउँमा पनि करोडौं खर्च गरेर आलिशान घर बनाइएको खुलेको छ ।
गिरोहको नाइके
अनुसन्धान अनुसार माइकल नेपाली मात्रै नभई अन्तर्राष्ट्रिय ठगी गिरोहको मास्टर एजेन्टका रूपमा समेत काम गरिरहेका थिए । सुरुवातमा उनी विदेशी गिरोहको सदस्यका रूपमा ठगी धन्दा चलाउँथे, तर पछि आफ्नै समूह खडा गरी नाइके बने । माइकलले विभिन्न सामाजिक सञ्जालमा घरमै बसेर सजिलै पैसा कमाउनेू जस्ता प्रलोभनपूर्ण विज्ञापनहरू पोस्ट गर्थे । त्यस्ता विज्ञापनमा देखाएर मानिसहरूलाई साइबर फिसिङमार्फत ठग्ने योजना बनाइन्थ्यो। लिंक खोल्नेबित्तिकै प्रयोगकर्ताको बैंक खातामा पहुँच बनाई पैसा निकाल्ने काम माइकलको समूहले गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
ठगीमा संलग्न ७ जना पक्राउ
माइकलसँगै अनलाइन ठगी र क्रिप्टो कारोबारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अनिल विश्वकर्मा (२६), बर्दगोरिया गाउँपालिका–६ पियुष श्रेष्ठ (२९) बूढानीलकण्ठ–८, आश्विन चौलागाईं (१९) दोलखा, सत्यम कुमार सहनी (२२) रौतहट, रोशन कुमार (२७) भारत बिहार रमुन्ना कुमार (३६) भारत बिहार रहेका छन् ।
अनुसन्धान अनुसार माइकलले अनिल विश्वकर्मालाई गाउँमै बसेर ठगी धन्दा चलाउन प्रस्ताव गरेका थिए । अनिलले विभिन्न बैंकमा खाता खोलेर ठगीको रकम व्यवस्थापन गर्न थालेका थिए। त्यस्तै, आश्विन चौलागाईंलाई रकम संकलन तथा ट्रान्सफर गर्ने जिम्मेवारी दिइएको थियो ।
३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आशंका
प्रहरीको प्रारम्भिक अनुसन्धानले माइकल र उनको समूहले हालसम्म ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको देखाएको छ । डिजिटल फरेन्सिक अनुसन्धान अझै बाँकी रहेकाले यो संख्यामा वृद्धि हुन सक्ने प्रहरीको आशंका छ ।
माइकलले ठगीबाट प्राप्त रकम विभिन्न बैंक खातामार्फत ट्रान्सफर गर्ने, क्रिप्टो खरिद–बिक्रीमा लगानी गर्ने, र हुन्डीमार्फत विदेश पठाउने गरेको पाइएको छ । साथै, उनले सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरूलाई प्रयोग गरी बैंक खाताहरू संकलन गर्ने र ती खातामार्फत पैसा कारोबार गर्ने गरेको भेटिएको छ । नेपालमा पछिल्लो समय अनलाइन ठगी र साइबर अपराधको घटनामा वृद्धि भइरहेको छ । माइकलको यो प्रकरणले नेपालमा साइबर ठगीको जटिल जालो उजागर गरेको छ, जसले अबको साइबर सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । बेरोजगार युवाहरूलाई अनलाइन जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय भएका छन् । सीआईबीका अनुसार साइबर ठगीको नेटवर्क नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय रूपमा फैलिएको छ । यस्ता अपराधमा संलग्न मुख्य नाइकेहरू पहिचान गरी थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी सुधीरराज शाहीले बताएका छन् ।
सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट हुने ठगीबाट जोगिन साइबर सुरक्षामा विशेष ध्यान दिनु आवश्यक छ । अनलाइनमार्फत प्राप्त हुने अनौठा अफरहरू, संदिग्ध लिंकहरू र अपरिचित व्यक्तिहरूबाट आउने सन्देशहरू प्रति सतर्क रहन प्रहरीले आग्रह गरेको छ । माइकलको यो प्रकरणले नेपालमा साइबर ठगीको जटिल जालो उजागर गरेको छ, जसले अबको साइबर सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ ।