धनगढी । धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवलले विजयी सुरुवात गरेको छ भने बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको चौथो दिन भएको पहिलो खेलमा जित हात पार्दै न्यु होराईजन बुटवलले विजयी सुरुवात गरेको हो । मंगलबार भएको पहिलो खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रन अन्तरले हराउँदै न्यु होराईजन बुटवलले विजयी सुरुवात गरेको हो ।
बुटबलले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा एक सय ५७ रनको योगफल बनायो । बुटबललाई सम्मानजनक योगफलमा पुराउनका लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन बनाए । आरिफ खानले ४१ रन बनाए भने कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले २०÷२० रन बनाए । बैतडीका लागि भुवन कार्कीले दुई विकेट लिए । खडक बोहोरा, रुपेश सिंह र सल्लाहुदीन खानले समान एक एक विकेट लिए ।
एक सय ५८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको दशरथ चन्द एकेडेमी बैतडीले १४.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो । बैतडीका लागि बसन्त खत्रीले सर्वाधिक २० रन बनाए । बसन्त सहित हिमाल दौल्यालले १९ रन, सुमित वडालले १४ रन र दिवान पुनले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । न्यु होराईजन बुटबललाई जिताउन तुलवहादुर थापाले ३ विकेट लिए । विप्रोसन केसी र वीरवहादुर मगरले दुई दुई विकेट लिए । सिद्धान्त लोहनी, महेश भार र निर्मल गुरुङले एक एक विकेट लिए । खेलमा ३ विकेट लिएका बुटबलका तुलवहादुर थापा नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगिताको चौथो दिनको दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ । बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । तीन खेलमा दुई जित सहित चार अंक बनाएको डिसिए समुह ए को अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुई खेलमा जित हात पारेको सिवाईसी अत्तरिया चार अंक सहित समुह ए को शिर्षस्थानमा छ । समुह ए बाट सेमिफाईनल पुग्ने टोलीको टुंगो भने यसपछि हुने लिग चरणका खेलहरुको नतिजामा भर पर्नेछ । समुह ए मा रहेको घोडाघोडी–११ ले दुई खेल खेल्न बाँकी छ भने बोष्टन झापा र सिवाईसी अत्तरियाले एक एक खेल खेल्न बाँकी छ । यसपछि घोडाघोडी–११ र बोष्टन झापा तथा घोडाघोडी–११ र सिवाईसी अत्तरिया बीच प्रतिस्पर्धा गर्न बाँकी रहेको छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४३ रन बनायो । डिसिएका लागि ओपनर लोकेश बमले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले चार छक्का र ३ चौका प्रहार गरे । टीमका लागि अमित श्रेष्ठले २५ रन बनाए भने मिलन बोहोराले १८ रन बनाए । बोष्टन झापाका लागि पवन कार्की, अभिषेक कार्की र रोशन शाहले दुई दुई विकेट लिए । रुसिल रिमालको नाममा एक विकेट रह्यो ।
एक सय ४४ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको बोष्टन झापाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय ३७ रन मात्रै बनाउन सक्यो । झापाका लागि दिपु भुजेलले २८ रन बनाए । रोहन विक र अरुण ऐरीले समान २६ रन बनाए । झापाका कप्तान अभिनास सिंहले अविजित १३ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । अन्तिम २ बलमा १२ रन आवश्यक रहेकोमा कप्तान सिंह छक्का प्रहार गर्दै खेलमा एक बलमा ६ रनको अवस्था सिर्जना गरे । तर अन्तिम बलमा डिसिएका भोजराज भट्टले कुनै रन नदिएपछि डिसिएले ५ रनको जित दर्ता गरेको हो । डिसिएका लागि नारायण जोशी र राहुल भण्डारीले दुई दुई विकेट लिए । भोजराज भट्टको नाममा एक विकेट रह्यो । खेलमा अर्धशतक बनाएका डिसिएका लोकेश बम नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।