बैतडी: यहाँका दुई वटा गाउँपालिकाका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकाका स्वास्थ्यकर्मीले मन्त्रालयबाट रकम निकासामा ढिलाइ हुँदा तलब नपाएको गुनासो गरेका हुन् । स्वास्थ्य कार्यालय बैतडीले जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा आयोजना गरेको अन्तरपालिका बैठकमा डिलासैनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम नाथले तलब नपाएको गुनासो गरे ।
उनले रातदिन दुर्गम गाउँमा खटिएर काम गर्दै आइरहेका स्वास्थ्यकर्मीले समयमै तलब नपाउँदा दैनिक जीवन निर्वाह गर्न कठिनाइ भइरहेको गुनासो गरे । उनले भने, “तलब नपाउँदा स्वास्थ्यकर्मीले दालभात पनि उधारोमा खानु परेको छ ।” सिगास गाउँपालिकामा पनि उस्तै समस्या रहेको जनस्वास्थ्य निरीक्षक वीरेन्द्र क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष पनि असारमा मात्रै तलब आएको थियो । चालु आर्थिक वर्षमा पनि माघसम्म तलब आएको छैन ।”
कार्यक्रममा सहभागी हुनुभएका बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन सबै तहले सहयोग गर्नुपर्ने बताए । त्यस्तै जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तलबका विषयमा मन्त्रालयसँग समन्वय गर्ने बताए । उनले स्वास्थ्य सेवा सुधारका लागि सरकार, स्वास्थ्यकर्मी र स्थानीय तहबिच समन्वय आवश्यक रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा हालसम्म भएका काम र आगामी सुधार योजनाका बारेमा स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बैतडीका १० वटा स्थानीय तहका ८४ वडामा आधारभूत स्वास्थ्य चौकी, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, एक जिल्ला अस्पताल, ३०५ वटा गाउँघर क्लिनिक र ३२४ वटा खोप क्लिनिक रहेको जानकारी गराए ।